‘ए मेरो हजुर’ निर्माताको ओपन-हार्ट सर्जरी सफल

‘ए मेरो हजुर’ सिरिजका निर्माता सुनिल कुमार थापाको ओपन-हार्ट सर्जरी गरिएको छ । मंगलवार विहान ९ बजे काठमाडौंस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लाण्ट सेण्टरमा डा. भगवान कोइरालाको टोलीले निर्माता थापाको ओपन-हार्ट सर्जरी गरेको हो । पिताको मुटुको अपरेशन सफल भएको खुशी अभिनेत्री सुहाना थापाले समाजिक सञ्जाल फेसबुकमा व्यक्त गरेकी छन् ।

डाक्टरको टोली र भगवान कृष्णलाई धन्यवाद दिँदै सुहानाले फेसबुकमा लेखेकी छन्, ‘मानव जीवन धेरै दुर्लभ र जटिल छ । समय अघोषित रूपमा आउँछ र अप्रत्याशित हुन्छ । त्यो अप्रत्याशिततामा जीवनको कुञ्जी समात्ने प्रमुख व्यक्तिहरू हुन्छन् । बुबा छिट्टै निको हुनुहोस्, तपाईंलाई अंकमाल गर्न म प्रतिक्षा गर्न सक्दिनँ ।’ उनले डा. कोइरालासँग खिचेको तस्विर पनि पोस्ट गरेकी छन् ।

निर्माता सुनिल कुमार थापाको मुटुमा प्वाल परेको थियो । बच्चामा नै उनको मुटुमा प्वाल देखिएको थियो । तर, ठूलो हुँदै गएपछि प्वाल पुरिँदै जाने चिकित्सकको सल्लाहमा उनले सर्जरी गरेका थिएनन् । तर, अहिले पनि मुटुमा प्वाल देखिएपछि निर्माता थापाले सर्जरी गरेका हुन् । उनी केही महिनाअघि अमेरिकामा थिए । तर, उनले सर्जरी गर्न नेपालकै अस्पताल र चिकित्सक रोजेका हुन् ।

Leave a Reply