लघु चलचित्रका लागि एनएनटीभी शर्टस् घोषणा, निर्णायकमा सुनिल, दीपेन्द्र र पूजा

नेपाली लघु चलचित्र मार्फत् नयाँ प्रतिभा खोज्ने र प्रोत्साहित गर्ने उदेश्यले नेपाल नेटवर्क टेलिभिजनले एनएनटीभी शर्टस् घोषणा गरेको छ । ‘मेरो कथा, मेरो सिनेमा’ नारा दिइएको कार्यक्रम लघु चलचित्र प्रतियोगिता हो ।

प्रतियोगितामा सहभागिता जनाउन चाहने व्यक्ति वा समुहले आफूले निर्माण गर्न चाहेको लघु चलचित्रको कथासार अनलाइनमार्फत पेश गर्नुपर्नेछ । प्राप्त ती कथासार छनोट भएमा नेपाल नेटवर्क टेलिभिजनले निर्माण अनुमति प्रदान गर्नेछ । अनुमति प्राप्त व्यक्ति वा समुहले सो प्रतिस्पर्धामा भाग लिन पाउनेछन् । यो प्रतिस्पर्धामा सहभागी हुने चाहनेले आफ्नो स्क्रिप्टको संक्षिप्त स्वरुप (कथासार) अनलाइन www.nntvshorts.com वा टेलिभिजनको कार्यालयमा गएर आवेदन दिन सक्नेछन् ।

कलाकार सुनिल थापा, पूजा शर्मा र निर्देशक दीपेन्द्र के खनाल निर्णायक रहेको प्रतिस्पर्धामा सहभागीहरुले १२ देखि २४ मिनेटसम्मको लघु चलचित्र निर्माण गर्नुपर्ने बिहिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । प्रतिस्पर्धाले आउँदो साउन २० गतेभित्रमा लघु चलचित्रको कथासार दर्ता गराइसक्नुपर्ने टेलिभिजनका सिइयो दीनेश डिसीले बताए ।

छनोटमा परेका लघु चलचित्रहरुबारे निर्णायक मण्डलले भदौ २६ देखि मूल्यांकन गर्नेछन् । ती लघु चलचित्र असोज १ गतेदेखि नेपाल नेटवर्क टेलिभिजनमा प्रशारण हुनेछन् । प्रसारित लघु चलचित्र मध्ये पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः २ लाख, १ लाख ५० हजार र ५० हजार रुपैयाँ नगदका साथै ट्रफी र प्रमाणपत्रसमेत पाउनेछन् । यसबाहेक उत्कृष्ट १० भित्र पर्नेले समेत १० हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गर्नेछन् ।

Leave a Reply