सुरक्षा र नरेनको ‘बुलाकी’ कात्तिक १८ मा प्रदर्शन हुने

सुरक्षा पन्त र नरेन खड्काको मुख्य भूमिका रहेको चलचित्र ‘बुलाकी’को प्रदर्शन मिति घोषणा गरिएको छ । निर्माण टिमले चलचित्रको पोस्टर सार्वजनिक गर्दै कात्तिक १८ गतेलाई प्रदर्शन मिति तय गरेको हो । पोस्टरमा सुरक्षालाई हँसिया, डोको बोकेको युवतीको चरित्रमा देख्न सकिन्छ भने अभिनेता खड्का र विराज विष्ट पनि पोस्टरमा फिचर्ड छन् ।

छत्रेश्वरी म्यानेजमेन्ट प्रालिको ब्यानरमा मोती बिष्टको प्रस्तुति र गोपाल बिष्ट निर्माता रहेको यो चलचित्रलाई लक्ष्मण सुनारले निर्देशन गरेका छन् । भने सह-निर्मातामा प्रकाश कँडेल (सौगात) छन् । जारी प्रथामाथि आधारित भएर निर्माण भएको चलचित्रको मुल कथा नै सुरक्षाको वरीपरी घुम्नेछ । यो चलचित्रमा नरेन, सुरक्षा र बिराजका अलावा प्रकाश कँडेल, रमेश बुढाथोकी, सरस्वती खत्री, सुशील पोखरेल, लक्ष्मी गिरी, कुलदीप अधिकारी, झलनाथ खत्री, उपासना वाइबा, सोनु सेढाईं, धनबहादुर राई, कमल गाउँले, अमित परियार लगायतका कलाकारको अभिनय छ ।

शिव ढकालले खिचेको चलचित्रको गीतमा श्रीकृष्ण बल मल्लको संगीत र शिव परीयार/प्रविशा अधिकारीको गायन रहनेछ । निर्देशक सुनारले ‘बुलाकी’ लाई आर्ट र कमर्शियलको ‘फ्यूजन’ को रुपमा बनेको बताएका छन् । चलचित्रले नेपाली समाजभित्रको अँध्यारो पाटोलाई देखाउने बताउँदै उनले जारी प्रथा (कुप्रथा) को विषयमा अध्ययन गर्न आफूले लामो समय खर्चेको पनि बताएका छन् ।

रसुवा लगायतका क्षेत्रमा तामाङ समुदायका महिलाले पुनर्विवाह गर्न चाहेमा उनीहरुको पहिलो श्रीमानलाई जारी बापतको रकम तिर्नुपर्ने सामाजिक नियम अझै पनि रहँदै आएको छ । अर्थात् महिलाहरु किनबेच हुने गरेका छन् । चलचित्रले यही विषयलाई उठान गर्न लागेको हो ।

Leave a Reply