कमजोर नेतृत्वका कारण फुट्यो ‘कार्टुन क्रु’ (भिडियो)

एक दशक अघि सविन कार्कीको परिकल्पनामा स्थापना भएको डान्स ग्रुप ‘कार्टुन क्रु’ले आजसम्म आइपुग्दा बजारमा राम्रो ठाउँ लिइरहेको थियो ।यो समुहको लिडर थिए, सविन । समुहमा ७ जना थिए जसमा सविन, सरोज अधिकारी, आश्मा विश्वकर्मा, विकाश राई, राम गुरुङ, लाक्पा लामा र सुविन चौहान थिए । विभिन्न कारणले उनी ग्रुपबाट बाहिरिए ।

सविन निस्किएपछि सरोजको नेतृत्वमा आश्मा, लाक्पा, राम, विकाश र सुविनले लगातार भिडियोको काम गरिरहेका थिए । यो ग्रुपको डान्स र भिडियोले दर्शकको मन जितिरहेको थियो । बिचमा विकास टिमबाट निस्किए र उनको ठाउँमा साजन चौहान आए । कभर भिडियोबाट यात्रा सुरु गरेको क्रुले म्युजिक भिडियोहरुमा पनि राम्रो छाप छाडिरहेको थियो । क्रुका भिडियोले युट्युबमा लाखौँ भ्यूज कमाउन थाले भने सरोज र आश्मा सेलिब्रेटी बनिसकेका थिए ।

तर पछी क्रुका लाक्पा डी लामालेपनि समुह छाडे । उनले आफ्नो युट्युब च्यानलबाट एक भिडियो पोष्ट गर्दै क्रु छाडेको जानकारी दिए । त्यहाँ उनले आफूलाई समुहको कुनै साथ नभएको र आफू ब्याकग्राउन्ड डान्सरको रुपमा सिमित रहेकाले क्रु छाडेको उल्लेख गरेका छन् । उक्त भिडियो सार्वजनिक भएपछि सरोज र आश्माले भिडियो बनाएर कार्टुन क्रुको युट्युब च्यानलमा पोष्ट गरे । जहाँ उनीहरुले लाक्पा, राम, सुविन र साजनले समुह छाडेको उल्लेख गरेका छन् ।

क्रु छोडेका ४ जनाले एउटा भिडियो तयार गरेका छन् । लाक्पाकै च्यानलबाट सार्वजनिक भएको भिडियोमा लाक्पा, राम, सुविन र साजनले सरोज र आश्माप्रति निकै रिस पोखेका छन् । युट्युब कमाइदेखि डान्स स्टुडियोबाट आएको पैसाको हिसाब आफूहरुलाई नदेखाएको उनीहरुले आरोप लगाएका छन् ।

हामीले पैसाको हिसाब माग्यो भने अनेक बहाना बनाउथ्य । स्टुडियोबाट आएको पैसा माग्यो भने रिसेप्सनलाई सोध भन्थे । रिसेप्सनको काम त पैसा उठाउने मात्र हो नि । आखिर लिने त सरोज नै हुन् नी । उनले कहिल्यै पैसाको हिसाब देखाएनन् ।’ यत्रो डेढ वर्षसम्मको कमाई आफूले ५० हजार मात्र पाएको उनले गुनासो गरेका छन् ।

भिडियोमा सविनको विषयमा पनि बोलेका छन् । उनीहरुले भनेका छन्, ‘सविन दाई हाम्रो समुह लिडर हुनुहुन्थ्यो । तर, उहाँलाई छोडेर अरुको विश्वास गर्नाले हामीबाट गल्ती भएको हो ।’ उनीहरुले भिडियोमा सविन र कार्टुन क्रुलाई धन्यवाद पनि भनेका छन् ।

सरोज र आश्माले बनाएको भिडियोमा क्रु छोड्दै गर्दा हरेकले पैसा पाएको उल्लेख छ । हरेक भिडियोबाट आएको पैसा बराबर बाडेको सरोज र आश्माले बताएका थिए । तर, छुट्टिएका ४ जनाले उक्त कुरा पनि गलत भएको उल्लेख गरेका छन् । सुविनले भनेका छन्, ‘भिडियोबाट आएको पैसा जम्मा गरेर नै हामीले स्टुडियो बनाएका हौँ । जुन अहिले हाम्रो रहेन ।’

Leave a Reply