आमिर र करिनाको ‘लालसिंह चढ्ढा’ अर्को सालको भ्यालेन्टाइनमा प्रदर्शन हुने

यही वर्ष प्रदर्शन हुने घोषणा गरेको आमिर खानको बहुप्रतीक्षित चलचित्र ‘लालसिंह चढ्ढा’ यो सालबाट सरेर अर्को साल पुगेको छ । क्रिसमसमा आउने घोषणा गरेको यो चलचित्र अब भने सन् २०२२ को भ्यालेन्टाइनमा आउने भएको छ ।

चलचित्रको काम नसकिएको भन्दै निर्माण टिमले अर्को वर्षलाई रिलिज मिति तय गरेका हुन् । चलचित्रमा आमिर खान र करिना कपुरको मुख्य भूमिका रहेको छ । साथै दक्षिण भारतीय अभिनेता नागा चैतन्यको पनि अभिनय रहेको छ । अद्वेत चन्दनले निर्देशन गरेको यो चलचित्र हलिउड हिट ‘फरेस्ट गम्प’को अफिसियल रिमेक हो । टम ह्याङ्क्स अभिनीत यो चलचित्रलाई भियतनाम युद्धको त्रासदी बताउने चलचित्रको रुपमा स्मरण गर्ने गरिन्छ ।

आगामी कात्तिक ५ गतेदेखि भारतको मुम्बईमा रहेका चलचित्र हलहरू खुल्ने मुख्यमन्त्री उद्धव ठाकरेको कार्यालयले निर्णय गरे सँगै बलिउडका ठूला व्यानरले चलचित्रको प्रदर्शन मिति धमाधम सार्वजनिक गरेका छन् । हल खुलाउने निर्णयसँगै मुख्यमन्त्री कार्यालयले फिल्म हलमा अपनाउनु पर्ने कोभिड संक्रमणविरुद्धको मापदण्ड पनि सार्वजनिक गर्ने तयारी गरेको जनाएको छ । मुम्बईका चलचित्र हल नखुल्दा निर्माताले रिलिज तय गर्न सकेका थिएनन् ।

आइतबार मात्र बलिउडका प्रतीक्षित चलचित्रहरुले रिलिज घोषणा गरेका छन् । प्रतीक्षित चलचित्रमध्यको एक सूर्यवंशी तिहारमा रिलिज गर्ने घोषणा भएको छ । ‘तडप’ ३ डिसेम्बरमा, रणवीर सिंहको मुख्य भूमिका रहेको ‘८३’ यस वर्षको क्रिसमसमा रिलिज हुने भएका छन् । शाहिद कपुरको जर्सी यसै वर्षको ३१ डिसेम्बरमा, कार्तिक आर्यन, कियरा आडवाणी, तबुलगायतका कलाकारको ‘भुलभुलैया २’ २५ मार्च २०२२ मा रिलिज हुने भएका छन् । अक्षय कुमारको बच्चन पाण्डे ४ मार्च २०२२ तथा राम सेतु सोही वर्षको तिहारमा प्रदर्शन हुने छन् ।

मुम्बईमा हल खुलेपछि यसले नेपाली चलचित्र क्षेत्रलाई पनि राहत मिलेको छ । नेपालका वितरक र प्रदर्शक मुम्बईमा हल खुलेपछि ठूलो चलचित्र रिलिज हुने र यसले चलचित्र क्षेत्रलाई चलायमान बनाउन सघाउ पुग्ने आशामा थिए ।

Leave a Reply