‘लाल सिंह चड्ढा’मा आमिर खानको नयाँ लुक्स

बलिउडका चर्चित अभिनेता आमिर खानको भूमिका रहेको नयाँ चलचित्र ‘लाल सिंह चड्ढा’को पोस्टर सार्वजनिक भएको छ । चलचित्रको पोस्टरलाई आमिर आफैँले इन्स्टाग्राममा सेयर गरेका हुन् । सार्वजनिक गरिएको पोस्टरमा आमिरलाई सरदारको भूमिका निर्वाह गरेको देख्न सकिन्छ ।

अनुहारमा हल्का मुस्कान, झप्प दाह्री, ठूलो–ठूलो आँखा र सादा कपडामा देखिएका आमिरको फोटो अभिनेता अक्षय कुमारको चलचित्र‘केसरी’ बाट प्रभावित भएको टिप्पणी आउन थालेको छ । उनी पहिलो पटक चलचित्रमा सरदारको लुक्समा देखिएका हुन् । चलचित्रमा अभिनेत्री करीना कपुरले आमिरको श्रीमतीको भूमिका निर्वाह गरेकी छन् ।

‘लाल सिंह चड्ढा’ हलिउड स्टार टम ह्याक्सको हलिउड चलचित्र ‘फरेस्ट गुम्पस’को हिन्दी रिमेक हो । यो चलचित्रले अस्कार अवार्ड समेत जितेको थियो । चलचित्रको कथा १९८४ मा भारतीय प्रधानमन्त्री इन्दिरा गान्धीको हत्यापछि भारतमा सिख समुदायको विरुद्ध लडेकाहरूको कहानीमा आधारित रहेको छ । चलचित्रलाई आमिरकी पत्नी किरण रावले निर्माण र अद्धैत चन्दनले निर्देशन गरेका हुन् ।

चलचित्र सन् २०२० को क्रिस्मसको अवसरमा रिलिज हुने भएको छ । यसअघि चलचित्रको मोशन पोस्टर पनि सार्वजनिक भइसकेको छ ।

Leave a Reply