‘हनी बनी’मा भारतीय मोडल अभिमन्युसँग रोमान्स गर्दै जसिता

दीवाकर भट्टराईको निर्देशनमा बन्न लागेको चलचित्र ‘हनी बनी’मा भारतीय मोडल अभिमन्यु तोमर मुख्य नायकको भूमिकामा भित्रिएका छन् । चलचित्रमा उनको जोडी अभिनेत्री जसिता गुरुङसँग बाँधिने छ । भारतको दिल्लीमा जन्मिएका २७ वर्षिया अभिमन्युले ‘याद पिया के आने लगी’ गीतमा अभिनय गरेका छन् । ‘हनी बनी’ नै उनको पहिलो फिचर चलचित्र हो।

यस चलचित्रमा मुख्य अभिनेताको भूमिकामा अनमोल केसी अनुबन्धित भएका थिए तर, अन्तिम समयमा उनले चलचित्र छाडेका थिए। अभिनेता केसीले चरित्र निर्वाह गर्न सक्नेमा शंका व्यक्त गरेपछि निर्माण टिम र उनीबीच चलचित्र नगर्ने सहमति भएको थियो । केही दिन वर्कसप समेत गरेका उनको चलचित्रको छायांकनका लागि बेलायतको भिसा समेत आइसकेको थियो । चलचित्रमा सलोन बस्नेतको समेत मुख्य भूमिका हुनेछ । आउँदो सातादेखि सुरु हुने छायांकनका लागि निर्देशक भट्टराई र सलोन लण्डन पुगिसकेका छन् ।

कम्पनी एबी इन्टरनेशलको प्रस्तुती रहने चलचित्रमा गौतम प्रोडक्सन र भ्वाइस फिल्मस् लिमिडेटले सहकार्य गरेका छन् । अमित बस्नेत, अजित केआर थापा र परी राना निर्माता रहेको चलचित्रको कार्यकारी निर्मातामा अंकित गौतम छन् । चलचित्र ‘हनी बनी’ आगामी दशैंको अवसरमा असोज १४ गते प्रदर्शन हुने छ।

Leave a Reply