राजेश हमालको ‘सत्यम्’को शिर्ष गीत सार्वजनिक

चलचित्र ‘सत्यम् : राइजिङ अफ द हिरोज्’को शीर्ष गीत सार्वजनिक भएको छ । गीतमा अभिनेता हमाललाई मात्र फिचर्ड गरिएको छ । राजेश हमाल चार वर्षपछि ‘सत्यम्’बाट कमब्याक गर्दैछन् । हमालको शिर्ष भूमिका रहने यो चलचित्रमा उनलाई एक्सन अवतारमा देख्न पाइनेछ ।

राम्रो इन्टरटेनमेन्टको युट्युब च्यानलबाट सार्वजनिक भएको गीतमा कुटुम्ब ब्याण्डको संगीत छ । गीतमा राजु महर्जनको स्वर, निर्माता रेशम सापकोटाको शब्द र योगेशकाजीको कन्सेप्ट छ । गीत सार्वजनिक गर्दै निर्माण टिमले केहि प्राविधिक कारणले चलचत्र तुरुन्तै छायांकनमा जान नसकेको उल्लेख गरेका छन् । र दर्शकहरुको प्रतिक्षालाई चिर्दै ‘सत्यम’को शिर्ष गीत सार्वजनिक गरेको बताएका छन् । जबर्जस्ती करणीको मुद्दामा अहिले कारागारमा रहेका अभिनेता पल शाहको मुद्दाको अन्तिम निर्णय लागेपछि मात्र चलचित्र छायांकनमा जाने बताइएको छ।

चलचित्रको तिहारअघि धम्पुसमा दश दिनसम्म चलचित्रको वर्कसप भएको थियो । यस चलचित्रमा पल शाह, अनुपविक्रम शाही, किशन सुनार, उपासना सिंह ठकुरी, मिलन सिजापतिको पनि मुख्य भूमिका रहनेछ । चलचित्रमा राजेश हमालको जोडीको रुपमा भने मोडल तथा भिजे नीलम चन्द अनुबन्ध भइसकेकी छिन् । चलचित्रमा उनी हमालको प्रेमिकाको भूमिकामा देखिने छिन् । चलचित्रमा उपासना पलको जोडीको रुपमा देखिनेछिन् । पलले उपासनासंग पहिलो पटक चलचित्रमा काम गर्न लागेका हुन् ।

नवयुग सिनेमाको प्रस्तुतीमा बन्न लागेको यो चलचित्रमा लेखन तथा निर्माण रेशम सापकोटाको रहनेछ । चलचित्रमा योगेशकाजीको संगीत, विदुर पाण्डेको छायांकन रहनेछ । अष्टमान महर्जनको एक्सन रहने चलचित्रमा रामजी लामिछानेको कोरियोग्राफी रहनेछ ।

चलचित्रमा अभय बराल र कृष्ण जोशीको पनि अभिनय हेर्न सकिनेछ । यो चलचित्रबाट मोक्तर खान, कैलाश रावल, नेरिस्का स्थापित, प्रिन्स प्रसिद्द सिंह, प्रविण चापागाँई, अन्विशा खड्की लगायतका कलाकारहरुले डेब्यू गर्दैछन् ।

पर्दामा राजेश हमाल र अनुपले दोस्रो पल्ट सँगै काम गर्न लागेका हुन् । यसअघि उनीहरुले चलचित्र ‘सौर्य’ मा एकसाथ अभिनय गरेका थिए । राजेश हमाल र पल शाहले पहिलो पटक ठूलो पर्दामा स्क्रिन शेयर गर्न लागेका हुन् । यसअघि उनीहरुले एक म्यूजिक भिडियोमा भने एकसाथ काम गरेका थिए ।

Leave a Reply