सौगात र दीयाको ‘मन्त्र’ बैशाख १६ मा प्रदर्शन हुने

चलचित्र ‘मन्त्र’को नयाँ प्रदर्शन मिति घोषणा गरिएको छ । अभिनेता सौगात मल्ल र अभिनेत्री दीया पुनको मुख्य भूमिका रहेको चलचित्र आउँदो बैशाख १६ गतेलाई प्रदर्शन हुने भएको छ । यसअघि चलचित्रको प्रदर्शन मिति गत माघ २८ गते तय भएको थियो। तर कोरोनाको तेस्रो लहरका कारण हल बन्द भएपछि प्रदर्शनमा आउन सकेन ।

खिल बहादुर गुरुङको निर्देशन रहेको यस चलचित्रमा बुद्दि तामाङ, नमिता घिसिङ्ग, बिर बहादुर लामा, पासाङ्ग टि शेर्पा लगायतको पनि अभिनय छ । गोर्खा सिरानचोक एण्ड लिगलिग कोट फिल्मस् प्रालिको ब्यानरमा बनेको चलचित्रका वितरक गोविन्द शाही हुन् ।

चलचित्रमा हिमाली भेगको सुन्दर दृश्यहरु कैद गरिएको छ । करिब ५१०० मिटरभन्दा माथिको उचाइँमा रहेको मनास्लु हिमालको बेसक्यामसम्म पुगेर छायांकन भएको चलचित्रमा मनास्लु क्षेत्र आसपासको कथाबस्तुलाई आधार बनाइएको छ ।

देबेन्द्र मानन्धर कार्यकारी निर्माता रहेको चलचित्रमा रविराज कार्की, सुरेश कार्की र सुभ श्रेष्ठको लगानी, साम्तेन भुटियाको कथा, सन्तोष सुनारको संगीत, सञ्जय लामाको छायांकन, मित्र डि गुरुङको सम्पादन र सुजिल कर्माचार्यको संगीत छ । ‘मन्त्र’ लाई हिमालयन लभ स्टोरी भनिएको छ ।

Leave a Reply