रविन तामाङको आवाजमा ‘चिसो एष्ट्रे’को शीर्ष गीत(भिडियो)

वजनदार आवाजका धनि रविङ तामाङको बोल्नै शैली बिल्कुलै फरक छ । उनको आवाज जस्तै फरक हुने गर्छन् उनले गाएका गीत । चलचित्रको अभिनयमा जम्नुअघि थुप्रै रक गीत गाएका तामाङ आजभोलि संगीतभन्दा ज्यादा अभिनयमा नै सक्रिय छन् । केही समय पहिले उनले अमेजन प्राइममा प्रसारण भएको हिन्दी सिरिज ‘दि लास्ट आवर’मा मुख्य भिलेनको भूमिका निर्वाह गरेका थिए जसको भारतमा निकै चर्चा भएको थियो ।

नेपालमा भने रविन तामाङ लामो समयपछि पर्दामा देखिँदैछन् ‘चिसो एष्ट्रे’मार्फत् । तर यो चलचित्रमा तामाङले अभिनय मात्र होइन गीत पनि गाएका छन् । उनकै शब्द तथा संगीत रहेको फिल्मको शीर्ष गीत शुक्रबार नेपाल फिल्म क्याम्पसका विद्यार्थीबीच सार्वजनिक गरिएको थियो । अंग्रेजीमा गाइएको ‘चिसो एष्ट्रे’ बोलको गीतले युवाहरुको जीवन शैलीलाई अभिव्यक्त गरेको छ ।

चलचित्रको टिम र चलचित्र कलेजका विद्यार्थीबीच अन्तक्र्रिया पनि भएको थियो । विद्यार्थी माझ अन्तक्र्रिया गर्दै टिमले आफूहरुले सहरसँग लय मिलाउन नसक्ने युवाको कथालाई पर्दामा उतार्ने जमर्को गरेको बताएका थिए । गाउँबाट सहर आएको एउटा युवाको सहरिया बन्ने यात्रा समेटिएको चलचित्र होलीको भोलिपल्ट अर्थात चैत ४ मा रिलिज हुँदैछ ।

दिनेश पाल्पाली (दिन्श) ले निर्देशन गरेको चलचित्रमा दिव्य देव, सृष्टि श्रेष्ठ, सुशील पाण्डे, निकुन श्रेष्ठ, नविन लम्साल र रबिन तामाङको मुख्य भूमिका रहेको छ । चलचित्रमा दिनेशले लेखन, निर्देशनसँगै गीतकारको पनि भूमिका निर्वाह गरेका छन् । चलचित्रमा संगीत अजर जंगमको छ । उज्ज्वल बस्ताकोटीको छायाङ्कन रहेको चलचित्रमा उज्ज्वल ढकालले सम्पादन रहेको फिल्म रिच इन्टरटेनमेन्ट र जिजिए ग्रुपले वितरण गर्नेछ ।

Leave a Reply