सलमान र कट्रिनाको ‘टाइगर ३’ अप्रिल २०२३ मा प्रदर्शन हुने

बलिउड अभिनेता सलमान खान र अभिनेत्री कट्रिना कैफको मुख्य भूमिका रहेको ‘टाइगर ३’को प्रदर्शन मिति घोषणा भएको छ । सलमानले शुक्रबार ‘टाइगर ३’को टिजर सार्वजनिक गर्दै फिल्मको प्रदर्शन मिति घोषणा गरेका हुन् । यो चलचित्र आगामी वर्षको इद अर्थात् अप्रिल २१, २०२३ मा प्रदर्शन हुनेछ ।

‘टाइगर ३’ सलमान र कट्रिनाको एक्शन चलचित्रको तेस्रो सिरिज हो । यसलाई मनीष शर्माले निर्देशन गरेका हुन् । चलचित्रमा सलमान खानले भारतीय जासूस अविनाश सिंह ‘टाइगर’ राठौरको भूमिका निभाएका छन्, जो पाकिस्तानी जासूस जोया हुमैमी (कट्रिना) सँग प्रेममा पर्छन्। चलचित्रको छायांकन हालै दिल्ली र आसपासका क्षेत्रमा पूरा गरिएको हो । यसअघि यो फिल्मलाई रुस, टर्की र अस्ट्रियामा पनि खिचिएको छ । चलचित्रमा अभिनेता इमरान हासमी पनि मुख्य भूमिकामा देखिंदैछन् ।

‘एक था टाइगर’ नामक लोकप्रिय फ्रेन्चाइजीको पहिलो चलचित्र २०१२ मा आएको थियो र यसलाई कबीर खानले निर्देशन गरेका थिए। चलचित्रले अत्याधिक राम्रो प्रतिक्रिया पाएको थियो । दोस्रो चलचित्र, ‘टाइगर जिन्दा है’, २०१७ मा प्रदर्शन भएको थियो र अली अब्बास जफरले निर्देशन गरेका थिए। दुवै फ्रेन्चाइजीमा सलमान र कट्रिनाले अभिनय गरेका छन् ।

Leave a Reply