हरिवंशको ‘कर्कलो कोक्याउला’को अडियो भिडियो प्रहरीलाई हस्तान्तरण

कलाकार हरिवंश आचार्यको स्वर, शब्द तथा संगीत रहेको ‘कर्कलो कोक्याउला’को अडियो भिडियो प्रहरीलाई हस्तान्तरण गरिएको छ । प्रहरी प्रधान कार्यालय नक्सालमा सोमबार आयोजित कार्यक्रमकाबीच नेपाल प्रहरीका महानिरीक्षक शैलेन्द्र थापा क्षेत्रीलाई कलाकार हरिवंश आचार्यले गीतको श्रव्य दृश्य सामग्री हस्तान्तरण गरेका हुन् । चेलिबेटी बेचबिखनको कथा भन्ने गीतको अडियो भिडियो देश भरीका प्रहरी निकायहरु मार्फत प्रचार प्रसार गर्नको लागी प्रहरीलाई प्रदान गरिएको हो ।

गीतमा अत्यन्त सुन्दर शैलीमा समाजको यथार्थ चित्रण गरिएको छ र गीतले अमुल्य सन्देश बोकेको छ। चेलिबेटी बेचबिखन विरूद्धको अभियानको रुपमा सार्वजनिक गरिएको गीत निकै मार्मिक र चेतनामुलक रहेको छ । शुभ मिडिया होम प्रालिले तयार गरेको गीतमा हरिवंशलाई गायिका समीक्षा अधिकारीले साथ दिएकी छन् । किरण तुलाधरको एरेञ्ज रहेको गीतमा श्यामश्वेत रसाइलीको मिक्सिङ छ ।

सुरक्षा पन्तको पटकथा रहेको गीतको भिडियोलाई मानव सुवेदीले निर्देशन गरेका छन् । सुशील सापकोटाले खिचेको गीतको भिडियोमा कलाकार हरिवंश आचार्य, स्वस्तिमा खड्का र महेश त्रिपाठीको अभिनय रहेको छ । भिडियोमा नविन लम्साल र घनश्याम पाण्डेको पनि अभिनय देख्न सकिन्छ ।

Leave a Reply