‘द ब्याण्ड च्याम्पियन नेपाल’ को प्रसारण सुरु

सांगीतिक ब्याण्डहरुबीच प्रतिस्पर्धामा आधारित नेपालकै पहिलो रियालिटी शो हो, ‘द ब्याण्ड च्याम्पियन नेपाल’ । देशभरि छरिएर रहेका सांगीतिक ब्याण्डलाई मञ्च प्रदान गर्ने उद्देश्यले आयोजना भएको ‘द ब्याण्ड च्याम्पियन नेपाल’को प्रसारण एपीवान टेलिभिजनबाट हिजो माघ १ गते देखि सुरु भएको छ।

उक्त रियालिटी शो हरेक हप्ताको शनिबार र आइतबार बेलुका ९ देखि १० बजेसम्म प्रसारण हुनेछ। हरेक ब्याण्डमा कम्तीमा तीन जना हुनुपर्ने रियालिटी शोको डिजिटल अडिसन भने यस अघि नै भइसकेको छ। ‘द लास्ट फ्राइडे’ संस्थाले प्रतियोगिता आयोजना गरेको यो शोको निर्णायकका रुपमा ड्रमर देव राना, भोकलिष्ट रविन तामाङ, गिटारिस्ट ज्योति घिमिरे छन् ।

यो च्याम्पियनको डिजिटल अडिसनमा देशभरका दुई सय ब्याण्डले सहभागिता जनाएका छन् । जसमध्ये ७० वटा ब्याण्ड जज अडिसनबाट छानिएका छन् । जज राउण्डपछि ओरिजिनल सङ राउण्ड हुनेछ । जहाँ ब्याण्डले आफ्नै गीत गाउनुपर्नेछ । उत्कृष्ट १० मा पुगेपछि भने भोटिङ शुरु हुने बताईएको छ। भोटिङ राउन्डमा जजको ६० र भोटको ४० प्रतिशत भूमिका रहनेछ । शोको होस्टमा भने रियालिटी–सो नेपाल आइडल सिजन–३ की प्रतिस्पर्धी मेघा श्रेष्ठ छिन् ।

यो शोका निर्देशक फूर्वा शेर्पा हुन् । उनले ब्याण्डका सबै सदस्यको उत्तिकै भूमिका रहने भएकाले पनि सबैको प्रस्तुतिलाई हेरेर निर्णय लिइने बताएका छन्। उनले भने, ‘ब्याण्ड च्याम्पियन पावर, प्यासन र पर्फमेन्सको प्रस्तुति हो । यहाँ एक जनाको मात्रै होइन, पूरै समूहकै प्रस्तुति हेरिन्छ । प्रतिस्पर्धामा विशेषगरी रक र पप गीत प्रस्तुत हुनेछ ।’

ब्याण्ड च्याम्पियनका विजेताले बीस लाख रुपैयाँ नगद पुरस्कार पाउनेछन् । यस्तै, दोस्रोले ६ लाख र तेस्रो तथा चौथो हुनेले चार/चार लाख नगद पुरस्कार पाउने छन्। विजेता ब्यान्डले विभिन्न सात वटा देशमा प्रस्तुति दिने अवसर पनि पाउने छन्।

‘द ब्याण्ड च्याम्पियन नेपाल’को सम्पूर्ण एपिसोडहरु माउन्ट एभरेस्ट डिजिटलको आधिकारिक यूट्युब च्यानलबाट पनि सार्वजनिक हुन्छन् । ब्यान्ड च्याम्पियनको डिजिटल पार्टनर माउन्ट एभरेस्ट डिजिटल रहेको छ । पहिलो एपिसोडमा नै उक्त शोलाई दर्शकको साथ र माया मिलेको छ । यूट्युबको कमेन्ट बक्स हेर्ने हो भने शोलाई अधिकांश सकारात्मक प्रतिक्रिया प्राप्त छ ।

बहुचर्चित नेपाल आइडलमार्फत गायन क्षेत्रका प्रतिभालाई उजागर गर्दै आएको एपीवानमा बाद्यवादनसहित समूहगत गायन रियालिटी शो पहिलो पटक सुरु भएको हो। देशभित्र लुकेर रहेका वा ओझेलमा रहेका सांगीतिक ब्याण्डहरुलाई अगाडि ल्याउने उद्देश्य सहित रियालिटी शो सुरु गरिएको आयोजक संस्था ‘द लास्ट फ्राइडे’ जनाएको छ ।

Leave a Reply