अक्सिजन जुटाउन गायक रामकृष्ण ढकालको सहयोग

कोरोना भाइरसको संक्रमणले यतिबेला देशभरका अस्पताल कोरोनाका बिरामीले भरिएका छन् भने अक्सिजन ग्यासको चरम अभाव छ । अक्सिजन नपाएर अस्पतालको बेडमा छट्पटाइरहेकाहरूको जीवन रक्षाका लागि नेपाली फिल्मकर्मीहरुले सहयोगी हात अगाडि बढाएका छन् । पल शाह, राजाराम पौडेल, पुष्प खड्का, श्वेता खड्का, नाजिर हुसेन लगायतका फिल्मकर्मीले अक्सिजन जुटाउन आर्थिक सहयोग गरेका छन् । यसैक्रममा, गायक रामकृष्ण ढकालले कोरोना संक्रमितका लागि अक्सिजन जुटाउन आर्थिक सहयोग गरेका छन् । सांगीतिक कार्यक्रममा अमेरिका जाने क्रममा ढकालले अक्सिजनको लागी केही रकमा जुटाएको ढकालले आफ्नो फेस्बूक मार्फत जानकारी गराएका हुन् ।

उनले नेपाली बैज्ञानिक महावीर पुनको संस्था राष्ट्रिय आविस्कार केन्द्रलाई करिब १८ लाख नेपाली रुपैयाँ सहयोग गरेका हुन् । यो संस्थाले महामारीको समयमा स्वास्थ्यकर्मीहरुलाई स्वास्थ्य सामाग्री र कोरोनाका बिरामीलाई अक्सिजन ग्यास निःशुल्क उपलब्ध गराउँदै आएको छ। सहयोग हस्तान्तरणपछि उनी मंगलबार बिहान आफ्नो फेस्बूकमा लेख्छन् ‘हामी सबै नेपालीको जन्मभूमि नेपालमा कोरोना महामारीको कहर मच्चिदा अक्सिजन सिलिन्डरको अभावमा हजारौँको ज्यान गइरहेको तीतो यथार्थ हामी सबैको सामु छर्लङ्गै छ ।नेपालमा यस्तो विषम परिस्थिति हुँदा म भने सांगीतिक कार्यक्रमको क्रममा अमेरिकामा आएको बेला यतै रोकिएको छु । म विनम्रतापूर्वक राख्न चाहन्छु कि एक नेपाली संगीत साधकका रूपमा आज मेरो जुन परिचय बनेको छ, त्यो सबै नेपाली दाजु-भाइ तथा दिदी-बहिनीको स्नेह, साथ र सद्भावकै कारण बनेको हो । उहाँहरू नेपालमा कोरोनासँग जीवन-मरणको युद्ध लडिरहेका बेला अमेरिकामै रहेकै बेला पनि केही सहयोग पुर्‍याउन सकिन्छ कि भन्ने पवित्र भावनाले मैले केही दिनअघि अमेरिकामा रहेका मेरा आदरणीय श्रोता-दर्शकमाझ सहयोगको आव्हान गरेको थिएँ मेरो विनम्र अनुरोधमा अमेरिकामा रहेका मनकारी नेपाली तथा भुटानी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूले खुला हृदयले सहयोग गर्नुभएको छ । यही क्रममा पहिलो चरणमा जम्मा भएको $15288 अमेरिकी डलर(करिब १८ लाख नेपाली) ­यस्तो विषम परिस्थितिमा पनि निस्वार्थ भावले नेपाली जनजनको सेवा गरिरहनु भएका आदरणीय वैज्ञानिक अभियन्ता श्री महावीर पुनज्यूको राष्ट्रिय आविष्कार केन्द्रको नाममा रहेको हिमालय बैंकको खाता नम्बर ०१९०६३२२०६००१७ मा वायर मार्फत जम्मा गरिएको व्यहोरा यहाँहरू सबैमा अवगत गराउन चाहन्छु।’

Leave a Reply