हेर्दा घाटा नलाग्ने ‘कठपुतली’

कोभिड १९ का कारण लामो समय फिल्म हल बन्द भए । नेपाली दर्शकले फिल्म हेर्न जाने बाटो नै भुलेको जस्तो भान भएको थियो । अबको प्राथमिकतामा हल नपर्ने हो कि भनेर हल ब्यवसायी पनि डराएका थिए । यो कुरालाई अन्तराष्ट्रिय फिल्महरुले तोड्ने काम गरे । फेरि अर्को डर पलायो, कतै अन्तराष्ट्रिय फिल्महरुले नेपालली हलमा हस्तक्षेप त गर्ने हैनन्?कतिपय निर्माता निर्देशकले नेपाली फिल्ममा कोटा प्रणाली लागु गर्नुपर्ने सम्मका कुराहरु उठाए ।

यहि समयमा आयो, नेपाली हरर् फिल्म कठपुतली । यो फिल्मले नेपाली फिल्म पनि गतिलो बनाए दर्शकको माया पाउन सक्छ भन्ने उदाहरण पेश गरेको छ ।

फिल्मले ऐतिहासिक बिषयमा डरलाग्दो प्रस्तुती दिइएको छ । दरवारले गरेको अन्याय अत्याचार बिरुद्ध आमजनता आन्दोलनमा छन् । दरवारले हजारौं दासी महिलालाई अत्याचार गरेर जिउँदै गाडेको छ, खोलामा बगाएको छ । तिनै महिलाहरु भुत बनेका छन् र दरवारसँग बदला लिन आँटेका छन् । उनिहरुले बदला लिन सक्लान्, या नसक्लान्? के फिल्मले देखाएजस्तै दरवारको अस्तित्व समाप्त हुनुको कारण भोग बिलास नै हो? यी कुरा थाहा पाउन फिल्म हेर्नुपर्ने हुन्छ । फिल्म नेपालभरका हलहरुमा यतिबेला प्रर्दशन भइरहेको छ । नेपालमा हालसम्म झण्डै एक दर्जन हरर् बिधामा फिल्महरु बनेका छन् । यो संख्यामा सुपर नेचुरल, सस्पेन्स, थ्रिलर, साइकोलोजिकल डिस्अर्डर समेतका कथालाई राखिएको छ । अहिलेसम्म भुत प्रेत र आत्मामा बनेका निकै कम फिल्म मध्ये कठपुतली उत्कृष्ट फिल्म हो ।

फिल्ममा सबैभन्दा राम्रो काम कलाकारले गरेका छन् । मिथिला शर्मा, उषा रजक, कर्मा शाक्य, शिल्पा मास्के लगायत सबै कलाकारको अभिनयमा खोट लगाउने ठाउँ छैन । उनिहरुको अभिनयले फिल्मलाई अन्त्यसम्म तानिरहन्छ । फिल्ममा कलाकारको अभिनय सँगै उनिहरुले लगाएका पहिरन पनि निकै गज्जवको छ । नेपाली परिवेशलाई पहिरनले साथ दिएको छ ।

हलिउड, बलिउड हरर् फिल्म हेरेर हुर्केकाहरुलाई यी भुतहरु नेपाली हुन् भन्ने बनाउन पहिरनले ठुलो भुमिका खेलेको छ । फिल्ममा मेकअप आर्टिष्टले पनि उत्कृष्ट काम गरेका छन् । मेकअपले दर्शकको मुटु ढुकढुक बनाउन सफल हुन्छ । साथै साउन्ड, क्यामरा र लइटिङमा पनि राम्रो काम भएको छ । एउटा सुन्दर फिल्म बन्नका लागि सामुहिक काम नै राम्रो हुनुपर्छ । कठपुतली फिल्ममा कलाकार, मेकअप, पहिरन, क्यामरा, लाइटिङ लगायतका राम्रो काम भएपनि फिल्ममा कथा भने कमजोर छ । कथा कमजोर हो या निर्देशकले त्यसलाई फिल्ममा उतार्न सकेनन् त्यो निर्माण टोलीले मनन गर्नुपर्ने कुरा हो ।

फिल्मको मुख्य पाटो कथा र निर्देशनमै चुक्नु भनेको फिल्म उत्कृष्ट बन्नु हैन । केहि दृष्यहरु यतिधेरै क्लिष्ट बनेका छन्, तिनीहरुलाई हलमा एकपटक हेर्दैमा दर्शकले बुझ्न सक्दैनन् । धेरैपटक हेर्न लायकको फिल्म बनेको छैन । कतिपय दृष्य फिल्म लब्म्याउन राखिएजस्ता देखिन्छन् । उस्तै लाग्ने दृष्यहरु बारम्बार दोहोरिन्छन् । दुई घण्टाको फिल्मलाई राम्रै कैंची चलाउने हो भने साँढे एक घण्टामा सकिन्छ । भिडियो सम्पादकले कैंची चलाउन डराउँदा पनि फिल्म केहि मात्रामा कमजोर बनेको छ । फिल्ममा मेकअप र पहिरनमा राम्रो काम भएपनि ब्याकग्राउण्ड भने वास्ता गरिएको छैन । नेपाली कथा भनिएपनि नेपालका राज दरवारमा बोलिनेजस्तो भाषा नहुँदा त्यसलाई स्विकार्न अलि समस्या पर्छ ।

आशा गरिए अनुसार फिल्मले तर्साउन सक्दैन । हरर् फिल्म भनिसकेपछि दर्शक डराउने मुडमै हल छिरेका हुन्छन् । डराउने ठाउँ सहजै अनुमान गर्न सक्दा दर्शक अलि रमाउन सक्दैनन् । कोभिड पछि नेपाली फिल्मका दर्शकलाई केहि मात्रामा भएपनि हल फर्काउन सफल फिल्म हो कठपुतली । फिल्मले नारी सशक्तिकरणको आवाज बोलेकाले पनि यो हेर्र्नेपर्ने फिल्म हो । यौन हिंसा र बलात्कारपछि मारिएका महिलाहरु भुत बनेर भएपनि बदला लिएरै छाड्छन् भन्ने कुरालाई कलात्मक ढंगले प्रस्तुत गर्न फिल्म सक्षम भएको छ ।

लामो समयसम्म हलमा नेपाली फिल्म हेर्नुभएको छैन भने फिल्म अवस्य हेर्नुहोला । तपाइलाई पैसा खेर गएको आभाष हुनेछैन ।

Leave a Reply