‘चिसो एस्ट्रे’ चैत ४ मा प्रदर्शन हुने

गाउँबाट सहर आएको एउटा युवाको सहरिया बन्ने यात्रा समेटिएको चलचित्र  ‘चिसो एस्ट्रे’ चैत ४ मा सार्वजनिक प्रदर्शनमा आउने भएको छ ।

चलचित्र दिनेश पाल्पाली (दिन्श) ले निर्देशन गरेका हुन् । दिनेशले यसअघि ‘बालकृष्ण सम :अनटोल्ड स्टोरी’ निर्देशन गरेका थिएजुन काठमाडौँ पर्वतीय फिल्म महोत्सव (किम्फ)सँगै  थाइल्यान्ड, क्यालिफोर्निया, चीन आदि देशका फिल्म महोत्सवमा छनोट भई विभिन्न अवार्ड जित्न सफल भएको थियो ।

 

निर्देशक पाल्पालीले चलचित्रले मुख्य चार चरित्र मार्फत मानिसको अन्तर यात्राको कथालाई पर्दामा प्रस्तुत गर्ने जमर्को गरेको बताए । ‘चलचित्रले गाउँबाट सहर आएर आधुनिक बन्न खोज्ने एक युवाको कथा भन्ने प्रयास गरेको छ,’ पाल्पालीले भने ‘आधुनिक बन्न उसले गर्ने यात्रा र यात्राका क्रममा भेट्ने अरू यात्रुको कथा नै चिसो एस्ट्रे हो ।’

चलचित्रमा दिव्यदेवले मदनको रूपमा मुख्य यात्रुको भूमिका निर्वाह गरेका छन् भने सहयात्रीको भूमिकामा छन् निकुन श्रेष्ठ, नवीन लम्साल, सुशील राज पाण्डे, रबिन तामाङ र सृष्टि श्रेष्ठ । ​कङ्गारु क्रिएसन र लोकलसिनेमाको संयुक्त ब्यानरमा निर्मित चलचित्रलाई महेशबाबु तिम्सिनाले  प्रस्तुत गरेका हुन् । निर्माणमा भने महेशबाबुलाई प्रवीण स्याङ्बा र शर्मिला पराजुलीले सघाएका छन् । रुपेश ढुङ्गाना र नवीन ढुङ्गाना चलचित्रका सह निर्माता हुन् ।

चलचित्रमा दिनेशले लेखन, निर्देशनसँगै गीतकारको पनि भूमिका निर्वाह गरेका छन् । चलचित्रमा संगीत अजर जंगमको छ । उज्ज्वल बस्ताकोटीको छायाङ्कन रहेको चलचित्रमा उज्ज्वल ढकालले सम्पादन रहेको फिल्म रिच इन्टरटेनमेन्ट र जिजिए ग्रुपले वितरण गर्नेछ  ।

Leave a Reply