‘सत्यम्’मा राजेशकी प्रेमिका बन्दै नीलम

चलचित्र ‘सत्यम्’को मंसिर दोस्रो हप्ताबाट छायांकनमा निस्कने तयारी रहेको छ । तिहारअघि धम्पुसमा दश दिनसम्म चलचित्रको वर्कसप भएको थियो । यस चलचित्रमा राजेश हमाल, पल शाह, मलिका महत, अनुपविक्रम शाही, किशन सुनार, मिलन सिजापतिको मुख्य भूमिका रहनेछ ।

चलचित्रमा अब भने राजेश हमालको जोडीको रुपमा मोडल तथा भिजे नीलम चन्द अनुबन्ध भएकी छन् । चलचित्रमा उनी हमालको प्रेमिकाको भूमिकामा देखिने छिन् । लामो समयदेखि कान्तिपुर टेलिभिजनबाट प्रशारण हुँँदै आएको ‘कल कान्तिपुर’ कार्यक्रममा भिजेको रुपमा काम गर्दै आइरहेकी नीलमले एक दर्जन बढी म्यूजिक भिडियोमा अभिनय पनि गरेकी छन् ।

‘सत्यम्’ मा हमालको पूर्व श्रीमतीको भूमिकाका लागि भने अभिनेत्री निरुता सिंहलाई अफर गरिएको छ । हमाल चार वर्षपछि ‘सत्यम्’बाट कमब्याक गर्दैछन् । हमालको शिर्ष भूमिका रहने यो चलचित्रमा उनलाई एक्सन अवतारमा देख्न पाइनेछ ।

शंकर कार्कीको निर्देशनमा बन्न लागेको यो चलचित्रमा हमालको चार वटा लुक्स हेर्न पाइने निर्माणपक्षले बताएको छ । यो चलचित्र मनाङ, मुस्ताङ, पोखरा र काठमाडौंमा खिचिनेछ । चलचित्रको इन्डोर छायांकनका लागि निर्माण टिमले ठूलो खर्चमा पोखरामा भव्य सेट निर्माण गरेको छ ।

नवयुग सिनेमाको प्रस्तुतीमा बन्न लागेको यो चलचित्रमा लेखन तथा निर्माण रेशम सापकोटाको रहनेछ । चलचित्रमा योगेशकाजीको संगीत, कुटुम्ब ब्याण्डको शिर्ष गीत, विदुर पाण्डेको छायांकन रहनेछ । अष्टमान महर्जनको एक्सन रहने चलचित्रमा रामजी लामिछानेको कोरियोग्राफी रहनेछ ।

चलचित्रमा अभय बराल र कृष्ण जोशीको पनि अभिनय हेर्न सकिनेछ । यो चलचित्रबाट मोक्तर खान, कैलाश रावल, नेरिस्का स्थापित, प्रिन्स प्रसिद्द सिंह, प्रविण चापागाँई, अन्विशा खड्की लगायतका कलाकारहरुले डेब्यू गर्दैछन् ।

चलचित्रका लागि अझै केही कलाकार भने फाइनल गरिएको छैन । चलचित्रमा पल र मलिका प्रेमी-प्रेमिकाको रुपमा देखिँदैछन् ।

पर्दामा राजेश हमाल र अनुपले दोस्रो पल्ट सँगै काम गर्न लागेका हुन् । यसअघि उनीहरुले चलचित्र ‘सौर्य’ मा एकसाथ अभिनय गरेका थिए । राजेश हमाल र पल शाहले पहिलो पटक ठूलो पर्दामा स्क्रिन शेयर गर्न लागेका हुन् । यसअघि उनीहरुले एक म्यूजिक भिडियोमा भने एकसाथ काम गरेका थिए ।

Leave a Reply