सुनिल सेट्टीले ‘एक्स ९’ मा काम गर्ने पक्का,नेपालमा ६ दिन सुटिङ गर्ने

चलचित्र ‘एक्स ९’मा बलिउड नायक सुनिल सेट्टीले काम गर्ने पक्का भएको छ । चलचित्रका निर्देशक मुकुन्द भट्टले बलिउड स्टारसँग चलचित्रका लागि संझौता भैसकेको जानकारी दिएका छन् ।

केही अगाडि यो चलचित्रको नेगेटिभ भूमिकाको लागि बलिउड नायक सोनु सुदलाई अफर गरिएको सार्वजनिक गरेका निर्देशक भट्टले अहिले चलचित्रका लागि सुनिल शेट्टी फाइनल भएको जनाएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा अभिनेता सुनिल शेट्टीसँगको तस्बिर पोष्ट गर्दै ‘एक्स ९’ का लागि शेट्टी फाइनल भएको जनाएका हुन् । उनले उक्त पोष्टमा चलचित्रको छिट्टै घोषणा गर्ने समेत जनाएका छन् ।

मुकुन्द सुनिलसँग सम्झौता गर्नका लागि केही साता अगाडि भारत पुगेका थिए । सुनिल चलचित्रमा भिलेनको भूमिकामा हुनेछन् । उनले यस चलचित्रका लागि जम्मा १२ दिन समय दिने र त्यस अवधिमा उनको भागमा पर्ने सुटिङ सकाइने बताइएको छ। १२ दिनमध्ये सुनीलका दृश्य ६ दिन काठमाडौ र बाँकी ६ दिन स्कटल्यान्डमा खिचिने बताइएको छ।

नेपालकै पहिलो ठूलो एक्सन चलचित्र भनिएको यो चलचित्रलाई महंगो बजेटमा बनाउन लागिएको छ । केहि दिनमै चलचित्रको टिजर सार्वजनिक गर्ने तयारी समेत निर्माण टिमको रहेको छ । चलचित्रको सुटिङ फेब्रुअरीबाट सुरु हुनेछ ।

मल्टिस्टारर चलचित्रमा नायक अनमोल केसी शिर्ष भूमिकामा देखिदैछन् । साथमा, सौगात मल्ल, पुष्प खड्का, राज कटुवाल लगायतका कलाकारको अभिनय चलचित्रमा रहनेछ । चलचित्रमा दुई नयाँ नायिका हुने भट्टको भनाई छ । तर को हुन् त्यो भने अहिलेसम्म सार्वजनिक गरिएको छैन।

क्यानडा, यूरोप र नेपालमा छायाँकन हुने बताइएको चलचित्रको कथा निर्देशक भट्ट र किंग योगीले तयार पारेका हुन् । गोल्डेन हिल्स पिक्चरको प्रस्तुतिमा निर्माण हुने चलचित्र निर्माण अगाडि नै कलाकारको कारणले चर्चा छ ।
राजिव तामाङ, वीरेन कुँवर, सुवोध भट्ट र गोकुल कुँवर निर्माता रहेको चलचित्र २०७९ को दसैँमा रिलिज हुने निर्माण युनिटले जनाएको छ ।

निर्देशक मुकुन्दले यसअघि ‘वार’, ‘लप्पन छप्पन’ र ‘लप्पन छप्पन-२’ चलचित्र निर्देशन गरेका छन्। मुकुन्दले नेपाली चलचित्रमा काम गर्न पाउँदा सुनिल उत्साहित भएको बताए । चलचित्र ‘एक्स ९-लेभल १’ को निकै चर्चा छ । चलचित्रमा सुनील हुने भएपछि चलचित्रको चर्चा झन् बढेको छ ।

Leave a Reply