‘ओ माई गड २’मा अक्षय कुमार भगवान शिवको अवतारमा देखिदै

बलिउड चलचित्र ‘ओ माई गड २’ को छायांकन पनि सुरु गरिएको छ । नायक अक्षय कुमारले यो चलचित्रको फस्टलुक सार्वजनिक गरेका छन् । यो चलचित्रमा उनी भगवान् शिवको भूमिकामा देखिदैछन् ।

चलचित्रको छायांकन प्रारम्भ भएको जानकारी अक्षय कुमार स्वयंले सामाजिक सञ्जालमार्फत दिएका हुन् । ‘चलचित्रका लागि तपाईको शुभकामनासँगै आशीर्वादको खाँचो छ,’अक्षय लेख्छन्,’हामीले इमान्दारितापूर्वक महत्वपूर्ण सामाजिक इस्यु देखाउने कोसिस गर्दै छौँ ।’

चलचित्र ‘ओ माई गड २’ सन् २०१२ मा रिलिज भएको चलचित्र ‘ओ माई गड’ को सिक्वेल हो । चलचित्रमा अक्षय कुमार, यामी गौतम र कलाकार पंकज त्रिपाठीको मुख्य भूमिका रहनेछ । चलचित्रको पर्दामा यामीले पहिलो पटक अक्षय कुमारसँग काम गर्न लागेकी हुन् ।

चलचित्र ‘ओ माई गड’मा धर्मको नाममा व्यापार र अन्धविश्वास छरिएको कुरालाई व्यङ्ग्यात्मक शैलीमा देखाइएको थियो र कलाकार पारेश रावलको मुख्य भूमिका थियो । यो चलचित्रलाई अमित रायले निर्देशन गर्दैछन् । यसपटक निर्देशक रायले चलचित्रलाई फरक कथामा देखाउने तयारी गरेका छन् ।

चलचित्रको छायांकन उज्जैनमा सुरु भएको छ । १७ दिनसम्म चलचित्रको छायांकन उज्जैनमा गरिने भारतीय मिडियाले उल्लेख गरेका छन् । चलचित्रको छायांकन महाकाल मन्दिर, रामघाट, कालभैरव मन्दिर लगायतका स्थानमा गरिनेछ ।

मिडिया रिपोर्टस्अनुसार यस चलचित्रको कथा भारतीय शिक्षा प्रणालीमा केन्द्रीत हुनेछ । ‘ओ माई गडको पहिलो संस्करण धर्ममा आधारित थियो । ओड माइ गड २ शैक्षिक प्रणालीमा आधारित हुनेछ,’ निर्माण पक्षलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले लेखका छन् । चलचित्रको कथाले परीक्षाको दबाब र कलेज प्रवेशजस्ता विषय उजागर गर्नेछ ।

बलिउडमा रुचाइएको चलचित्रमध्यको एक हो ‘ओ माई गड’ । यो चलचित्रको सफलताले पनि यसको नयाँ सिरिज दर्शकको पर्खाइमा थियाे। सन् २०१२ मा प्रदर्शन भएको चलचित्रको सिक्वेललाई दर्शकले १० वर्षपछि सन् २०२२ मा हेर्न पाउनेछन् ।

Leave a Reply