‘चुरिफुरी’ आउँदो पौष ९ गते प्रदर्शन हुने

ऋषिराज आचार्यको लेखन तथा निर्देशनमा तयार भएको चलचित्र ‘चुरिफुरी’को प्रदर्शन मिति तय भएको छ । यो चलचित्र आउँदो पौष ९ गते देखि प्रदर्शन हुने भएको छ । मंगलबार चलचित्र पत्रकार संघ नेपाल, दाङ शाखाले तुलसीपुरमा आयोजना गरेको साक्षात्कार कार्यक्रमबाट निर्देशक ऋषिराज आचार्यले चलचित्रको प्रदर्शन मिति घोषणा गरेका हुन् ।

आरबी मुभीजको ब्यानरमा निर्माण भएको चलचित्रमा रविन्द्र झा, राजिबजंग बस्नेत, सोना बज्राचार्य, रिन्जिन गुरुङ, शिशिर भण्डारी, दीपक आचार्य (काकु), सुबोध गौतम (एदुमे), पवन खतिवडा (म्याकुरी), सुरवीर पण्डित, ऋतु आचार्य, सुनीता श्रेष्ठ, राजेन्द्र खाती, महेश्वर आचार्य, लक्ष्मी ढकाल (जोया), कमल सिंह, सरिस्मा मगर, अस्मिता बस्नेत लगायतका कलाकारहरुको पनि अभिनय छ । यो चलचित्रबाट अभिषेक श्रेष्ठले नायकको रुपमा डेब्यू गर्दैछन् भने उनको अपोजिटमा पूजा पन्त देखिँदैछिन् ।

सोसल कमेडी जनरामा निर्माण तयार भएको ‘चुरिफुरी’लाई राहुल राईले खिचेका हुन् भने निर्मातामा रिना ढकाल छिन् । त्यस्तै, सह-निर्मातामा बिमला भुसाल, राजेन्द्र खाती र शिब थापा छन् । दीपक शर्माको संगीत रहेको चलचित्रका गीतहरुमा समीर आचार्य, विश्व नेपाली र बेनिशा पौडेलको स्वर छ । भिमफेदी ग्रुपले कोरियोग्राफी गरेको चलचित्रको कला निर्देशकमा बिजय आचार्य रहेका छन् । चलचित्रलाई डि.सि.एन.ले वितरण गर्नेछ । यो चलचित्रको छायांकन ४३ दिनमा सकिएको थियो ।

कोरोनाका कारण दोस्रो पटक साढे पाँच महिनादेखि बन्द रहेका सिनेमा हल घटस्थापना (असोज २१) बाट सञ्चालनमा आएका छन् । तर, प्रदर्शनका लागि नेपाली चलचित्र नहुँदा विदेशी चलचित्र चलाएर हल खुलेका थिए । दशैं विदालाई लक्षित गर्दै फूलपातीबाट चलचित्र ‘डाँडाको बर पीपल’ प्रदर्शनमा आएको थियो ।

प्रदर्शनको अघिल्लो दिन काठमाडौंको ‘वान सिनेमाज्’ मा चलचित्र ‘डाँडाको बर पीपल’को प्रिमियर गरिएको थियो । जहाँ फिल्मकर्मीहरुले फिल्मको कथावस्तु र कलाकारहरुको अभिनयको प्रशंसा गरेका थिए ।

Leave a Reply