‘२ नम्बरी’को छायांकन सुरु

निर्देशक दिपेन्द्र लामाको लेखन तथा निर्देशनमा निर्माण हुने चलचित्र ‘२ नम्बरी’ को छायांकन फेरि सुरु भएको छ । चलचित्रको शनिबारबाट कास्कीको ल्वाङ गाउँदेखि छायांकन सुरु भएको हो । २० दिनको सुटिङ सेड्युल राखेर चलचित्रको फेरि छायांकन सुरु गरिएको हो।

पहिलो चरणको कोरोना महामारीअघि पोखराको एक गाउँबाट चलचित्रको छायांकन भइरहेको थियो । त्यसबेला संक्रमण रोकथामका लागि सरकारले २५ जनाभन्दा बढीको उपस्थितिमा छायांकन नगर्न भनेपछि छायांकन रोकियो । कलाकार, पटकथा र निर्माताको हेरेफेर गरिएपछि चलचित्रको पुनः छायांकन गर्न लागिएको हो । चलचित्र आगामी कात्तिक ४ गते तिहारको अवसरमा प्रदर्शन हुने पनि तय भएको छ । जसमा अभिनेता पल शाहको स्थानमा अभिनेता सौगात मल्ल र अभिनेत्री बर्षा राउतको ठाउँमा अर्की अभिनेत्री उपासना सिंह ठकुरी भित्रिएका छन् । फिल्ममा गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ (दीपक मनाङे) पनि निर्माताको रुपमा भित्रिएका छन् ।

चलचित्रमा दयाहाङ राई, उगेन छोदेन (भुटानी अभिनेत्री), बुद्धि तामाङ लगायतका कलाकारहरुको अभिनय रहनेछ । एउटा सुन्दर गाउँका २ जना साथी, उनीहरुको मित्रता र दुश्मनीको कथामा बन्ने चलचित्र ‘२ नम्बरी’ले समाजमा हुने गरेका २ नम्बरी कामलाई पनि उठान गर्नेछ । रेड बर्ड प्रोडक्शन र आरआर फिल्म प्रोडक्शनको ब्यानरमा निर्माण हुन लागेको यो चलचित्रमा कार्यकारी निर्माताको रुपमा किरण नेपाली छन् । चलचित्रमा गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ (दीपक मनाङे) र अमलादेवी राईको लगानी छ । भने, कार्यकारी निर्माता सरोज नेपाली हुन् । चलचित्रमा सुशन प्रजापतिको छायांकन, रामजी लामिछानेको कोरियोग्राफी रहनेछ ।

Leave a Reply