मनोज पण्डित निर्देशित ‘एक’ ओटीटी प्लेटफर्ममा रिलिज

मनोज पण्डित निर्देशित चलचित्र ‘एक’ बिहिवारदेखि ओभर दी टप र डीटीएच प्लेटफर्महरुमा रिलिज भएको छ । डिसहोम, म्याक्स टिभी, सिनेमा घर लगायतका प्लेटफर्मबाट फिल्म रिलिज भएको हो । दसैँ घटस्थापनाको अवसरमा निर्देशक पण्डितले चलचित्र रिलिज गरेका हुन् ।

२ घन्टा १५ मिनेट लम्बाईको यो चलचित्रलाई १ सय ९९ रुपैयाँ तिरेर डिजिटल प्लेटफर्म सिनेमा घर एप, भाए टिभी, म्याक्स टिभी, नेट टिभी, एक्स भोड् र डिसहोमको च्यानल नं. ५५५ मा घरमै बसेर हेर्न सकिन्छ । ओटीटीमा रिलिजको पहिलो दिन चलचित्र हेर्ने दर्शकको सुखद उपस्थिति रहेको बताउँँदै निर्देशक पण्डितले दर्शकबाट निकै सकारात्मक प्रतिक्रिया मिलेको पनि जानकारी दिए ।

विदेशी षड्यन्त्र र हस्तक्षेपबाट नेपाललाई जोगाउन विशेष गुप्तचर निकाय ९रअ० जतिसक्दो चाँडो स्थापित गर्नुपर्छ भन्ने तथ्यलाई स्थापित गर्न यो चलचित्रले ‘सीएसआई’ नामक एउटा जासूसी निकायको परिकल्पना गरेको छ । देश जोगाउन एउटा इमान्दार एजेन्टको संघर्षको कथामा चलचित्र आधारित छ । विशाल पोखरेल, ज्योत्सना योगी र प्रमोद अग्रहरी चलचित्रमा मुख्य भूमिका छन् ।

चलचित्रको कथा निर्देशक पण्डित आफैंले लेखेका हुन् । आत्मा गुरागाइँ र सोफी थापा निर्माता रहेको चलचित्रमा दीपक बज्राचार्यको छायांकन, भरतमणी रेग्मीले सम्पादन र प्रमोद खड्काको द्वन्द्व निर्देशन छ । स्क्रिप्ट फ्याक्ट्रीको ब्यानरमा निर्माण भएको ‘एक’ मा सवीर चुरौते, प्रमोद खड्का, विश्वान्त पोखरेल, मदन ठाकुर, सुरेश शाह, रामशरण पाठक, हरोण अलीको पनि अभिनय छ ।

फरक धारका चलचित्र बनाउन सिपालु मानिने निर्देशक मनोज पण्डितले विश्वमा ओटीटी प्लेटफर्म हलको विकल्पको रुपमा उदाएको अवस्थामा नेपालमा पनि यसलाई स्थापित गर्न उनले आफू निर्देशित चलचित्रलाई सिधै ओटीटीमा रिलिज गरेका हुन् । यो चलचित्र उनले हलमा रिलिज गर्ने उद्देश्यले बनाएका थिए ।

Leave a Reply