सुरक्षा पन्त चलचित्र ‘बुलाकी’ मा अनुबन्धित

अभिनेत्री सुरक्षा पन्तले नयाँ चलचित्र साइन गरेकी छन् । ‘ग्रीन बर्ड’ को छायांकन पूरा हुनसाथ चलचित्र ‘बुलाकी’ मा उनी अनुबन्ध भएकी हुन् ।

जारी प्रथामाथि आधारित भएर निर्माण हुन लागेको चलचित्रको मुल कथा नै उनको वरीपरी घुम्नेछ । चलचित्रको छायांकन कात्तिकबाट सुरु हुनेछ । सुरक्षाले कथावस्तु र आफ्नो भूमिका मन परेपछि चलचित्रमा काम गर्न तयार भएको बताएकी छिन् ।

लक्ष्मण सुनारको निर्देशनमा बन्न लागेको यस चलचित्रमा नरेन खड्का र विराज विस्ट पनि मुख्य भूमिकामा अनुबन्ध भइसकेका छन् । अप्सना थापा, लक्ष्मी गिरी, सुनिल पोेखरेल, प्रेमदेव गिरीको पनि अभिनय रहने चलचित्रको अधिकांश छायांकन डोल्पामा हुनेछ । कर्णालीको भाषामा बन्ने यस चलचित्रको निर्मातामा मोति विष्ट र गोपाल विस्ट छन् भने सह-निर्मातामा प्रकाश कँडेल (सौगात) छन् ।

शिव ढकालले खिच्ने चलचित्रको गीतमा श्रीकृष्ण बल मल्लको संगीत र शिव परीयार/प्रविशा अधिकारीको गायन रहनेछ । निर्देशक सुनारले ‘बुलाकी’ लाई आर्ट र कमर्शियलको ‘फ्यूजन’ को रुपमा बनाउन लागेको जानकारी दिए । चलचित्रले नेपाली समाजभित्रको अँध्यारो पाटोलाई देखाउने बताउँदै उनले जारी प्रथा (कुप्रथा) को विषयमा अध्ययन गर्न आफूले लामो समय खर्चेको पनि बताए ।

रसुवा लगायतका क्षेत्रमा तामाङ समुदायका महिलाले पुनर्विवाह गर्न चाहेमा उनीहरुको पहिलो श्रीमानलाई जारी बापतको रकम तिर्नुपर्ने सामाजिक नियम अझै पनि रहँदै आएको छ । अर्थात् महिलाहरु किनबेच हुने गरेका छन् । चलचित्रले यही विषयलाई उठान गर्न लागेको हो । अभिनेता नरेन खड्काले पहिलो पटक चलचित्रमा आफूले फरक भूमिकामा अभिनय गर्न लागेको बताएका छन् ।

Leave a Reply