अमेरिकाको विन्टर फिल्म फेस्टिभलमा ‘कठपुतली’ले दुई अवार्ड जित्न सफल

नेपाली हरर चलचित्र ‘कठपुतली’ ले अमेरिकाको प्रतिष्ठित इन्टरनेशनल फिल्म फेस्टिभल ‘विन्टर फिल्म अवार्ड’ मा दुईवटा महत्त्वपूर्ण अवार्ड जित्न सफल भएको छ । सेप्टेम्बर २३ देखि अक्टोबर २ सम्म चलेको फेस्टिभलमा चलचित्रले ‘बेस्ट हरर फिचर फिल्म’ र ‘इन्डी पिक्स अवार्ड’ जितेको हो । फेस्टिभलमा यो चलचित्र ‘विन्टर फियर अवार्ड हरर फिल्म कम्पिटिसन’ विधामा छनोट भएको थियो ।

हरर विधातर्फ उत्कृष्ट बनेको यो चलचित्रले जितेको ‘इन्डी पिक्स अवार्ड’ अमेरिकाको ओटीटी प्लेटफर्ममा आधारित छ । यो अवार्ड जित्नु भनेको ‘इन्डी पिक्स’ नामक प्रतिष्ठित ओटीटी प्लेटफर्मले रिलिजको अफर गर्नु हो । उक्त फेस्टिभलमा चारवटा चलचित्रले मात्र यो अवार्ड जित्न सफल भए । विन्टर फिल्म फेस्टिभलमा यो चलचित्रले ‘हरर विधा’ मा हलिउड फिल्मसँग प्रतिस्पर्धा गरेको थियो ।

चलचित्रले दुईवटा अवार्ड जितेकोमा निर्माता पृथ्वी राना मगरले खुसी व्यक्त गरेका छन् । उनले भनेका छन्, ‘नेपाली चलचित्रलाई अन्तर्राष्ट्रिय मञ्चमा लैजाने मेरो सपना अन्ततः पूरा भएको छ । यसका लागि मैले २० वर्षदेखि यात्रा सुरु गरेको थिएँ । कयौं पटक निराश पनि भएँ तर फिल्म निर्माणको जोश कहिल्यै कम भएन । यो अवार्डले फिल्म निर्माणमा मलाई थप हौसला दिएको छ ।’

चलचित्रका निर्देशक भिमसेन लामाले यो सफलताको लागि आफूलाई विश्वास गर्ने फिल्मको सम्पूर्ण टिम जिम्मेवार रहेको बताए । सम्पदा मल्लको कथा, पटकथा र संवाद रहेको चलचित्रमा गौरी मल्ल, मिथिला शर्मा, कर्मा, शिल्पा माष्के, उषा रजक, सुवर्ण थापा लगायतको अभिनय छ । अवस्था सामान्य बन्दै गएकाले पुस–माघसम्म फिल्मलाई नेपालमा रिलिज गरिने निर्माता मगरले बताए ।

चलचित्रको सह-निर्मातामा विशाल गुरुङ, धर्म श्रेष्ठ र हेम थापा छन् । पृथ्वी राना प्रोडक्सनको ब्यानरमा बनेको ‘कठपुतली’ अन्य हरर चलचित्रभन्दा भिन्न रहेको निर्देशक लामाले बताएका छन् । उनी यो चलचित्र आफ्नो ड्रिम प्रोजेक्ट रहेको बताउँछन् । पोस्ट प्रोडक्सनको सम्पूर्ण काम लण्डनको स्टूडियोमा भएको यो चलचित्र ‘हर्टल्यान्ड इन्टरनेसनल फिल्म फेस्टिभल’ मा पनि छानिएको छ ।

Leave a Reply