पशुपतिनाथ दर्शन गर्न पुगे अभिनेता अनुपम खेर(भिडियो)

बलिउड अभिनेता अनुपम खेर यतिबेला नेपालमा छन् । चलचित्र छायांकनका लागि नेपाल आएका उनी आज (मंगलबार) बिहान पशुपतिनाथ मन्दिर पुगे । उनी पशुपतिनाथको दर्शन गर्न त्यहाँ पुगेका हुन् ।

मन्दिर पुगेर उनले सबैको सुस्वास्थ्य र शान्तिको कामना गरेका छन् । ‘काठमाडौँको चर्चित पशुपतिनाथ मन्दिरको दर्शन गर्न पाउँदा धन्य महसुस गरिरहेको छु । मैले सबैको राम्रो स्वास्थ्य र शान्तिको लागि प्रार्थना गरेको छु । म धेरै खुसी छु,’ उनले भनेका छन् ।

चलचित्र ‘उचाइँ’ को छायांकनका लागि अनुपम खेरसंगै बोमन इरानी, परिणिती चोपडा, सारिका हसन पनि काठमाडौंमा नै छन् । आइतवार विहान इन्डियन एयरलाइन्सको विमानबाट त्रिभुवन विमानस्थलमा अवतरण गरेका उनीहरुलाई बौद्धस्थित पाँचतारे होटल हायतमा बस्ने व्यवस्था मिलाइएको छ ।

सूरज बडजात्याको निर्देशन रहने ‘उचाइँ’ को अधिकांश छायांकन हिमाली क्षेत्रमा गर्नुपर्ने भएकाले निर्देशक बडजात्याले नेपाललाई रोजेका हुन् । चलचित्रको छायांकन स्थल हेर्न उनी दुईपटक नेपाल आएका थिए ।

यो चलचित्रमा अमिताभ बच्चनको पनि अभिनय रहनेछ । तर, उनी भने नेपाल आउने छैनन् । स्वास्थ्य अवस्थाका कारण उनलाई परिवारले चिसो ठाउँमा पठाउन नमानेपछि उनीबाहेकको टिम नेपाल आएको हो ।

चलचित्रलाई लुक्ला, लाङटाङ, मनाङ र मुस्ताङ लगायतका क्षेत्रमा छायांकन गरिनेछ । मित्रताको कथामा निर्माण हुन लागेको चलचित्रको ४०-४५ दिनसम्म नेपालमा छायांकन हुनेछ । नानी गुप्ताको पनि मुख्य भूमिका रहने यस चलचित्रको नेपाल व्यवस्थापन थ्री ह्विलर्स कम्पनी हेरेको छ । परिणिती पनि यसअघि चलचित्र ‘सन्दिप और पिंकी फरार’ को छायांकनका लागि नेपाल आएकी थिइन् ।

नेपाल आउने क्रममा आकाशबाटै कैद गरेको काठमाडौंको भिडियो आफ्नो इन्स्टाग्राममा साझेदार गर्दै अनुपम खेरले स्तूपा र मन्दिरहरुको शहरमा लामो समयपछि आउन पाएकोमा खुसी व्यक्त गरेका थिए। उनी यसअघि २०७१ सालमा कोसेली स्कुलमा अध्ययनरत सुकुम्बासी र मजदुरका सन्तानलाई सहयोग जुटाउन आयोजित च्यारिटी शोमा सहभागी हुन नेपाल आएका थिए ।

Leave a Reply