सविन र छुल्ठिमको ‘धन्दागिरी’ दशैंमा प्रदर्शन हुने(ट्रेलर)

चलचित्र ‘धन्दागिरी’ को ट्रेलर सार्वजनिक भएको छ । असोज २५ गते (फूलपातीको अघिल्लो दिन) लाई प्रदर्शन मिति घोषणा गर्दै निर्माण टिमले शुक्रवार ट्रेलर युट्युबमा सार्वजनिक गरेको हो । ट्रेलरमा एक्सनलाई विशेष स्थान दिइएको छ ।

अभिनेता सविन श्रेष्ठ र अभिनेत्री छुल्ठिम गुरुङको मुख्य भूमिका रहेको यस चलचित्रमा दिनेश खड्का, दिनेश डिसी, सुशील पोखरेल, स्व. दीपक क्षेत्री, स्व. बिएस राणा लगायतको पनि अभिनय देख्न पाइन्छ । नरेन्द्र भट्टराईको कथा र निर्देशन रहेको यस चलचित्रको डिजिटल राइट्स डिएआर मुभिज एन्ड फिल्म्सले लिएको छ ।

चलचित्रमा दिनेश खड्का एसोसियट निर्माता र कुमार प्रसाद ओझा कार्यकारी निर्माताको रुपमा छन् । चलचित्रका निर्माता ​कवि भक्त क्षेत्री र फुर्वा दोर्जे तामाङ हुन् । आरआर फिल्म्सको ब्यानरमा निर्माण भएको चलचित्रलाई रोहित कट्टेल र रत्न श्रेष्ठले वितरण गर्नेछन् ।

गत वर्ष ९ महिना बन्द भएर खुलेका सिनेमा हल कोरोना महामारीको दोस्रो लहर सुरु भएसँगै तीन महिनामै बन्द भयो । पछिल्लो समय संक्रमण दर कम हुँदै गएपछि सरकारले गत हप्ता स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर ५० प्रतिशत अकुपेन्सीमा तीन जिल्ला (काठमाडौं, भक्तपुर र ललितपुर) का सिनेमा हल सञ्चालन गर्न अनुमति दिएको छ । तर, हल भने अझै खुलेका छैनन् ।

सरकारले हल खोल्न अनुमति दिएपछि गत हप्ता ‘ए मेरो हजुर ४’ ले चैत २५ गते र ‘लप्पन छप्पन २’ ले फागुन १३ गतेलाई रिलिज डेट घोषणा गरेको छ । चलचित्र रिलिजका लागि दशैं विदा सबैभन्दा राम्रो मानिन्छ । गत वर्ष दशैंमा कोरोनाका कारण सिनेमा हल सुनसान भए । यस वर्षको दशैंमा भने नयाँ चलचित्र रिलिज हुने भएको छ । फूलपातीपछिको दशैं विदाको राम्रो समय उपयोग गर्न शुक्रवार चलचित्र ‘धन्दागिरी’ ले प्रदर्शन मिति घोषणा गरेको हो।

ट्रेलर हेर्नुहोस् :-

Leave a Reply