प्रकाश सपुतको ३१ वर्षीय आरोह-अवरोह !

नेपाली साङ्गीतिक क्षेत्रमा आफ्नो गलाले र कलाले आलोकित बनाएको नाम हो, प्रकाश सपुत । लोकदोहोरीमा चलेका गायक सपुत संगीतिक क्षेत्रको सफल नाम हो । उनै प्रकाशले आज आफ्नो ३१ औं जन्मदिन मनाएका छन् ।

बुवा बल बहादुर विश्वकर्मा र आमा बिना कुमारी विश्वकर्माको ज़ेठो सुपुत्रको रूपमा सपुतको जन्म २०४७ साल भदौ २९ गते बागलुङको धाम्जामा भएको हो । कामको सिलसिलामा बुबाआमा भारतमा भएकाले उनको बाल्यकालको केही समय उतै बित्यो । त्यसपछि उनी बुटवलस्थित मामाघरमा बसे । उनले कक्षा २ सम्म मामाघरमै बसेर पढे ।

गाउँमा सपुतको घर भनेकै गोठ थियो । बुवाका धेरै दाजूभाई, छुट्टिदा उनको बुवालाई गोठ परेको रहेछ । त्यो गोठको आधा भागमा गाई–भैंसी बाँध्‍ने र आधा भागमा सपुतको परिवार बस्‍ने गर्थ्यो । भान्छा र बेड एकै ठाउँमा थियो र भुइँमै सुत्थे । पछि उनको परिवारले आफ्नै गाउँमा लाहुरेको घर किनेर सरे । त्यो घर किन्‍ने वित्तिकै एसएलसी पास गरेर बाग्लुङ बजारमा आएका प्रकाश खासमा, त्यो घरमा बस्‍न पाएनन् । त्यो घरको ऋण तिर्न सपुतको परिवारलाई धेरै बर्ष लागेको थियो । उनै प्रकाशले २ बर्ष अगाडि काठमाडौंमा घर किने ।

केहि समय अघि मात्र प्रकाशले झन्डै ५० लाखमा हुन्डाईको क्रेटा पनि किनेका छन। उनको यो पहिलो गाडी हो। काठमाडौं आएसँगै लामो समय सार्वजनिक यातायातमा यात्रा गरे । दोहोरी साँझमा काम गरेको २–३ वर्षपछि ‘सेकेन्ड ह्याण्ड’ स्कुटर किने । केही वर्ष स्कुटर चढेपछि उनले ‘सेकेन्ड ह्याण्ड’ मोटरसाइकल किनेका थिए । यसअघि उनी सोही मोटरसाइकलमा यात्रा गर्दै आएका थिए ।

सपुतले सङ्गीतको औपचारिक ज्ञान भने कतैबाट लिएका छैनन् । उनका हजुरबुबा भजन गाउँथे । बुबा मारुनीमा नाच्ने र गाउने गर्थे । कक्षा ८ मा पढ्दा उनले ठूलो कार्यक्रममा आमा सम्बन्धी गीत गाए । त्यसमा विजेता पनि बने । त्यसपछि उनमा हौसला र आत्मविश्वास थप प्रगाढ भएर गयो । २०७६ सालमा प्रकाशले गलबन्दी गीत बजारमा ल्याए र छोटो समयमै हिट पनि भयो । त्यो बर्ष उनले धेरै काम गर्ने मौका पाए । पहिलो ब्याटल बजारमा ल्याएपछि उनले धेरै शोहरु गर्न पाइरहेको थिए र गलबन्दीले उनलाई थप व्यस्त बनायो । उनले गीतबाट मात्र नभएर शोहरु बाट पनि अलिअलि कमाउन थाले । यतिसम्म कि,उनले एक महिनामा २८ वटासम्म शोहरु पनि गरे ।

१६ बर्षमा एसएलसी दिएर बाग्लुङ बजारमा पढ्न झरेँका थिए र त्यसपछि उनी काठमाडौं आए । सपुत काठमाण्डौ आएर धेरै ठाउँमा सर्दै भाडामा बसे । काठमाडौं आएपछि लोकदोहोरी प्रतियोगितामा सहभागी हुन थाले सपुत, जसबाट विस्तारै नाम र दाम कमाउन थाले । घरमा अलिअलि पैसा पठाउन थाले, जसबाट परिवार पनि खुसी र आफू पनि खुसी भए । त्यसपछिको करिव ४ वर्ष ठमेलको गामवेँसी दोहोरी साँझमा गीत गाएर बिताए । दोहोरी साँझमा काम गर्न थालेपछि उनको आर्थिक समस्या पनि समाधान हुँदै गयो र सङ्गीत क्षेत्रका व्यक्तिहरू सित चिनजान पनि बढ्दै गयो । जीवन निर्वाहका लागि प्रकाश सपुतले होटल र फर्निचरमा काम गरे । त्यस्तै, धौलागिरि एफएमलगायत अन्य क्षेत्रमा समेत काम गरे ।

‘मुसुमुसु नहाँस’ उनको पहिलो एल्बम थियो । तर, प्रारम्भिक चरणका कामहरूमा खासै सफलता हात लागेन उनलाई । ‘माकुरामाकुर घुर’ बोलको गीतबाट सबैको नजरमा पर्नुअघि उनले विभिन्न भूमिकामा करिव २ सयवटा भिडियोमा काम गरिसकेका थिए । ‘बोल माया’ले त उनलाई चर्चाको शिखरमै पुर्‍यायो । त्यसपछिका हरेक प्रोजेक्ट सफल हुँदै गए । यो मोडपछि उनले पछाडि फर्किएर हेर्नुपरेन । यति मात्र होइन, त्यसपछिका उनका हरेक सिर्जनाहरूले युट्युबका ट्रेन्डिङमा र दर्शकको मनमा ठाउँ बनाउन सफल भए । १०–१५ मिनेटको गीतबाट पनि समाजलाई सशक्त सन्देश दिन सकिन्छ भन्ने बलियो उदाहरण गायक सपुतले आफ्नो गीतहरु मार्फत प्रस्तुत गरेका छन् । धेरै सङ्घर्ष र मिहिनेतको साथ सङ्गीतको क्षेत्रमा उनी अहिले लोकप्रियताको शिखरमा छन् ।

प्रकाशले प्रेम विवाह गरेका हुन् । बाग्लुङका प्रकाशले बाग्लुङकै बिन्दु बोहरासँग वि.सं २०६९ सालमा विवाह गरेका हुन् । कलेज पढ्ने समयमा विन्दु आफूलाई मन परेपछि प्रकाशले प्रेम प्रस्ताव राखेका हुन् । अहिले ३ वर्षकी छोरी छन् उनीहरूकी ।

‘दोहोरी ब्याटल’, ‘बोल माया’, ‘गलबन्दी’, ‘बदला बरिलै’ हुँदै ‘फुटेको चुरा’, ‘नमस्कार’, ‘यो देश मेरो पनि होइन र ?’ र ‘कुरा बुझ्नु पर्छ’ सम्म आइपुग्दा सांगीतिक क्षेत्रमा आफ्ना गीत सङ्गीतमा ठेट नेपाली पन समावेश गर्ने कोसिस गरेर र यसको मध्यमबाट दर्शक श्रोताको मनमा बस्न सफल भइसकेका छन् । गीत सङ्गीतको माध्यमबाट समाजमा यथावत् विभिन्न पाटोलाई उजागर गर्ने शैलीका कारण उनलाई गीत सङ्गीतका मार्फत दर्शकले निकै माया दिए ।उनी ‘परदेशी २’ चलचित्रमार्फत अभिनेताका रुपमा दर्शकमाझ आउँदैछन् ।

नेपाली साङ्गीतिक क्षेत्रमा निकै मार्मिक गीतहरु प्रस्तुत गरेका अब्बल कलाकार प्रकाश सपुतलाई कोरिबाटीको टिमबाट जन्मदिनको हार्दिक शुभकामना व्यक्त गर्दछौं ।

Leave a Reply