अर्थमन्त्रीलाई चलचित्र र निर्माता संघले बुझायो ज्ञापनपत्र

चलचित्र निर्माता संघले अर्थमन्त्री जनार्दन शर्मालाई ज्ञापन पत्र बुझाएको छ । बुधवार संघका अध्यक्ष आकाश अधिकारी, अभिनेता भुवन केसी, चलचित्र संघका अध्यक्ष मधुसुदन प्रधान लगायतले अर्थमन्त्रीसमक्ष विभिन्न मागसहितको ज्ञापनपत्र बुझाएका हुन् । चलचित्र निर्माण गर्न चाहने व्यक्तिलाई बैंकिङ कर्जाको व्यवस्था गर्न, २०७६ बैशाखदेखि ठप्प रहेको फिल्म क्षेत्र पुनः सुचारु हुने मितिसम्मका लागि ब्याज छुटको व्यवस्था गर्न, बैंक तथा वित्तिय संस्थाबाट फिल्म निर्माण परियोजना कर्जाको व्यवस्था गर्न, ५ सय डलरसम्मको डेविड भिसा कार्डलाई २ हजार डलरसम्म पुर्‍याउन पनि संघले ज्ञापनपत्रमार्फत अर्थमन्त्रीसँग आग्रह गरेको छ । त्यस्तै, निर्माता संघले २०७८/०७९ को बजेटमा सम्बोधन भएको विषयलाई कार्यान्वयन गर्न र बजेटमा छुटेका विषयलाई पुनर्विचार गर्न ध्यानकर्षण गराएको छ । २०७७ को मौद्रिक नीतिले फिल्म क्षेत्रलाई अति प्रभावित क्षेत्रमा सूचिकृत गरे पनि कुनै किसिमको सहुलियत कर्जा उपभोग गर्न नपाएकाले अर्थ मन्त्रालयबाट समेत फिल्म उद्योगलाई अति प्रभावित उद्योगमा राख्न संघको माग छ । विशेषगरी कोरोनाले थलिएको चलचित्र क्षेत्रलाई सहजीकरण गर्नका लागि मौद्रिक नीतिमा तीन वर्षपछिबाट साँवा ब्याज बुझाउने गरी ७ वर्षका लागि सुलभ कर्जा प्रवाह गर्नुका साथै २०७७ को मौद्रिक नीतिमा झैं यस वर्ष पनि चलचित्र उद्योगलाई अति प्रभावित क्षेत्रमा राख्न २ संघले माग गरेका छन् ।

Leave a Reply