पाकिस्तानी चायवाला र तरकारीवालीको विवाह गरिदिनुपर्छ पनि भनिरहेका छन् नि ?

एकाएक सेलिब्रेटी बन्नुभयो । कस्तो लागिरहेको छ ?’, ‘तरकारीवाली’ का रूपमा संसारभर चर्चा कमाएकी कुसुम श्रेष्ठलाई शनिबार मध्यान्ह काठमाडौंको एक रेस्टुराँमा प्रश्न तेस्र्साइयो । प्रश्न सुनेर उनी हल्का मुस्कुराइन् । वरपर हेरिन् तर उनको बोली फुटेन । केवल हाँसिन् मात्र । ‘पाकिस्तानी चायवाला र तरकारीवालीको विवाह गरिदिनुपर्छ पनि भनिरहेका छन् नि ?’ कुसुमजस्तै सामाजिक सञ्जालमा भाइरल भएका पाकिस्तानका चियावाला असरद खानसँग जोडेर सामाजिक सञ्जालमा आएका प्रतिक्रियाहरूलाई लिएर अर्को प्रश्न थपियो । उनी सेता दाँत देखाउँदै प्रतिक्रियाविहीन लजालु हाँसो हासिन् । एकछिनमै अनुहार लाजले पोतियो । आँखा भुइँतिर फर्काइन् ।

नीलो कुर्ता, दोपट्टा, ज्याकेट र रातो सेन्डिलमा अन्तर्वार्ता दिन काठमाडौं झरेकी कुसुम केही नर्भस देखिन्थिन् । दुई साताअघिसम्म सामान्य गाउँले किशोरीको भूमिकामा रहेकी कुसुम बाक्लै गरी बज्ने मोबाइलका कारण पनि तनावमा थिइन् । चितवनको क्वेस्ट कलेजमा प्लस टु अध्ययनरत कुसुम जीवनमा पहिलो पटक यति धेरै मान्छे र मिडियाको पछ्याइमा परेकी थिइन् । ‘जीवनमा यस्तो मोड आउला भनेर कल्पनै गरेकी थिइनँ,’ उनले भनिन्, ‘न त कहिल्यै अन्तर्वार्ताको कल्पना गरेकी थिएँ, न त पत्रिकामा फोटो छापिने कुरा नै ।’

१२ कात्तिकमा सामाजिक सञ्जाल फेसबुकमा पोस्ट भएका दुई तस्बिरले कुसुमलाई रातारात सेलिब्रेटीको स्टाटसमा पुर्‍याएको छ । फेसबुक र ट्विटरका साथै नेपाली, भारतीय तथा पाकिस्तानी मिडियाहरूमा उनका तस्बिर मात्र छाएनन््, उनको सुन्दरता र मेहनतको प्रशंसा पनि उत्तिकै भयो ।

‘भुइँचालै आएजस्तो भयो,’ कुसुमलाई अन्तर्वार्ताका लागि काठमाडौं लिएर आएका उनका काका पदम श्रेष्ठले कोरीबाटीसंग  भने, ‘पहिले त हामीलाई निकै डर पनि लाग्यो । पछि बिस्तारै कुरा बुझ्दै गएपछि डर हरायो ।’ हरियो बुट्टे कुर्ता र कालो लेगिन्समा तरकारीको क्रेट बोकेर पुलमा हिँडिरहेकी तथा बजारमा मोबाइलमा कुरा गरिरहेकी कुसुमको ‘नेचुरल लुक’का दुई अलग तस्बिर खिचेर पर्यटन व्यवसायी रुपचन्द्र महर्जनले आफ्नो फेसबुक वालमा पोस्ट गरेका थिए । त्यही तस्बिर ‘तरकारीवाली’ ह्यासट्यागमा इन्टरनेट दुनियाँभर भाइरल भयो । कतिपय मिडियाले त उनका बारेमा ‘सुन्दरी तरकारीवालीले इन्टरनेटमा आफ्नो रूपले कब्जा गरिन्,’ शीर्षकमा समाचार समेत प्रसारित गरे ।

महर्जनले ती दुई तस्बिर कतिबेला खिचेका हुन् भन्ने हेक्का समेत छैन कुसुमलाई । ‘सधैं पुलमा धेरै मान्छेले फोटो खिचिरहेका हुन्छन्, मलाई ती तस्बिर कतिबेला खिचिए भन्ने पत्तो भएन,’ उनले सुनाइन् । कतिसम्म भने कुसुमले इन्टरनेटमा आफ्ना तस्बिरको चर्चा भैरहेको कुरा १५ कात्तिकमा मात्र थाहा पाइन् । ‘स्कुलमा सँगै पढेकी साथी अञ्जु रेग्मीले भनेपछि मात्र थाहा पाएँ । सुरुमा निकै डर लाग्यो, पछि राम्रो चर्चा भएको भन्ने थाहा पाएपछि मात्र ढुक्क भएँ,’ उनले भनिन्, ‘एक रात त सुत्नै सकिनँ ।’

कुसुमका बुवा चन्द्रनारायण श्रेष्ठले संसारभर आफ्नी छोरीको फोटो पुगेको कुरा सुन्दा आफूलाई अचम्म लागेको बताए । ‘छोरीको फोटो देश, दुनियाँमा पुग्यो भन्ने सुनेको छु,’ उनले भने, ‘यस्तो चर्चा होला भन्ने कहिल्यै सोचेको थिइनँ ।’ उनले आफ्नी छोरी कुसुम सानैदेखि लजालु भएको बताउँदै अझै पनि उनी मानिसहरूसँग राम्रोसँग बोल्न नसक्ने बताए ।

इन्टरनेटको दुनियाँमा भाइरल भएका कुसुमका दुई तस्बिरले घरायसी काममा सहयोग गर्ने र आफ्नै पढाइमा व्यस्त हुने उनको दैनिकी पनि फेरिदिएको छ । अहिले बिहानै सबेरैदेखि बज्ने उनको मोबाइल राति अबेरसम्मै बजिरहन्छ । कोही बधाई दिन्छन्, कोही अन्तर्वार्ताका लिन्छन् । पत्रकारहरूले सोध्ने प्रश्नको रेडिमेड उत्तर पनि हुँदैन, उनीसँग । जे मनमा आउँछ त्यही भनिदिन्छिन् । ‘कसैले मोडल बन्ने हो भनेर सोध्नुहुन्छ ? कसैले फिल्म खेल्ने हो भन्नुहुन्छ ?’ कुसुमले भनिन्, ‘तर पढाइ मेरो पहिलो प्राथमिकता हो ।

राम्रो अवसर आए अरू विषयमा पनि विचार गर्न सक्छु ।’ साप्ताहिकसँगको झन्डै एक घण्टा लामो कुराकानीमा कुसुमको मोबाइल तारान्तर बजिरह्यो । उनकी बहिनीले पटक–पटक फोन काटिन्, तर घण्टी बज्न छाडेन । कुसुम आफैं अगाडि सरिन् र फोनको स्विच नै अफ गरिदिइन् । अहिले फिल्म निर्माताहरू उनलाई हिरोइन बनाउन तम्सिएका छन् भने गायकहरू आफ्नो म्युजिक भिडियोमा खेल्ने प्रस्ताव राख्न थालेका छन् । फोन गर्ने र अन्तर्वार्ता लिन चाहने पत्रकारहरूको पंक्ति पनि ठूलै छ । चलचित्र ‘लम्फू’ को निर्माण पक्षले त उनलाई नायिकाकै लागि प्रस्ताव नै गरिसकेको छ ।

कुसुम र उनको परिवारले भने अहिले मोडलिङ र फिल्मका लागि आएका कुनै पनि प्रस्ताव स्वीकार गरिनसकेको जनाएको छ । ‘हामीले अहिलेसम्म कुनै प्रस्ताव स्वीकार गरेका छैनौं,’ काका पदमले भने । कुसुम भने आफूलाई सुहाउँदो भूमिका पाए अभिनय गर्न सक्ने संकेत गर्छिन् । ‘गाउँको युवतीको भूमिका निर्वाह गर्ने अवसर पाए भने गर्छु,’ आफू रेखा थापाको प्रशंसक रहेको बताउने कुसुमले भनिन् ।

सामाजिक सञ्जालमा तरकारीवालीका रूपमा पहिचान बनेकोमा कस्तो लाग्छ कुसुमलाई ? भन्छिन्, ‘म किसानकी छोरी हुँ । नराम्रो किन लाग्नु र ?’ सुरु–सुरुमा फोन आउँदा पनि डराउने कुसुम अहिले बिस्तारै आफ्नो बानी पर्न थालेको बताउँछिन् । ‘अहिले कुरा गर्न पनि अलि सहज भएको छ,’ उनी भन्छिन्, ‘सुरुमा त निकै गाह्रो हुन्थ्यो ।’ अहिलेसम्म उनले कतिलाई फोनमा त कतिलाई भेटेरै अन्वर्तार्ता दिइसकेकी छिन् ।

Leave a Reply