‘धुर्मुस’ लेख्छन्,‘मनिषा दिदीको स्वतन्त्र अभिव्यक्तिलाई तोडमोड गरेर केही भारतीय मिडियाले गरेको दुस्प्रचार अर्थहिन छ’

बलिउडमा लामो समय काम गरेकी नेपाली अभिनेत्री मनिषा कोइरालाले नेपाल सरकारले नयाँ नक्सा पारित गरेको विषयमा एउटा ट्विटमा सिमा विवादबारे नेपालको पक्षमा बोलेको भन्दै ट्विट देखेर भारतीय मिडियाले उनको चर्को आलोचना गरिरहेका छन् । सामाजिक संजालमा अहिले देशको सिमाना र मनिषा कोइरालाको ट्विटको बिषयमा कलाकारहरुले आफ्नो भनाई सार्वजनिक गरिरहेका छन् ।

यस्तैमा हाँस्यव्यंग्य कलाकार तथा समाजसेवी सिताराम कट्टेल ‘धुर्मुस’ले पनि यो बिषयमा आफ्नो भनाई राखेका छन् । बिहिबार सितारामले आफ्नो फेसबुकमा लेख्छन्,‘हरेक सुख-दुःखमा साथसाथै रहनु नै नेपालीको बिशेषता हो । भुकम्पको पीडा होस् या संबिधान जारी गर्दाको खुसी, नाकाबन्दीको दुःख होस् या लिम्पियाधुरासहितको नक्सा जारी गर्दाको गौरव, यसले हाम्रो एकता कायम गरेकै छौं ।
सबैलाई आफ्नो देश प्यारो हुन्छ । सबैलाई आफ्नो छिमेक आवश्यक हुन्छ । तर छिमेकी-छिमेकीको सम्बन्ध आकारले होईन भावनाले समान हुनुपर्छ । हामी भारतसँग यही चाहन्छौं ।

नेपाल सरकारलाई हार्दिक धन्यवाद जसले हाम्रो देशको सर्वाङ्ग तस्वीर सार्बजनिक गरेको छ । अब यसैगरी कुटनैतिक ढङ्गले भु-भाग फर्काउन पहल गरौं । जसमा हामी राजनैतिक रङमा बाँडिएर हैन नेपालीको सुत्रमा बाँधिने छौं । हामीलाई कसैको भुभाग जित्नु छैन, संसारको मन जित्नु छ र नेपाल आमाको रक्षा गर्नुछ । प्रसंग मनिषा कोईराला दिदीको, मनिषा कोईराला हिन्दी चलचित्रकी नायिका मात्र नभएर बि.पी. कोईरालाकी नातिनी पनि हुनुहुन्छ । जसका हजुरबाले आफ्नो सिंगो जीवन नेपालको हितका लागि दिनुभयो । उहाँको कर्मभुमी भारत होला तर उहाँको मातृभुमी नेपाल हो । उहाँको स्वतन्त्र र सन्तुलित अभिव्यक्तिलाई तोडमोड गरेर केही भारतीय सञ्चार माध्यमले गरेको दुस्प्रचार अर्थहिन छ । त्यसको घोर भत्सना गर्दै दिदी प्रति उच्च सम्मान, साथ र समर्थन छ । अन्त्यमा, हल्ला र कोलाहलबाट हैन समस्या बार्ताबाट नै समाधान हुन्छ । हाम्रा सम्माननीय प्रधानमन्त्रीले भनेझैं सिंहको हैन् सत्यको जीत चाहान्छौं ।’

Leave a Reply