बलिउडका चर्चित अभिनेता ऋषि कपूरको निधन

बलिउडका वरिष्ठ अभिनेता ऋषि कपूरको उपचारका क्रममा ६७ वर्षको उमेरमा बिहीबार निधन भएको छ । स्वास्थ्यमा समस्या आएपछि बुधबार मुम्बईस्थित सर एचएन रिलायन्स अस्पताल भर्ना भएका कपूरको बिहीबार निधन भएको हिन्दुस्तान टाइम्सले जनाएकाे छ ।

अमेरिकामा भन्डै एक वर्ष क्यान्सरको उपचार गरेपछि गत सेप्टेम्बरमा ऋषि मुम्बई फर्किएका थिए । त्यतिबेला उनले ‘११ महिना ११ दिनपछि घर फर्किएँ’ भन्दै ट्वीट गरेका थिए । गत फेब्रुअरीमा पनि उनी दुई पटक अस्पताल भर्ना भएका थिए । सुरुमा दिल्ली जाँदा उनलाई ‘इन्फेक्‍सन’ले सताएको थियो भने मुम्बई फर्किएपछि ज्वरो आएको थियो । सामाजिक सञ्जालमा निकै सक्रिय ऋषिले अप्रिल २ यता केही पोस्ट गरेका थिएनन् । त्यसअगाडि उनले दीपिका पादुकोणसँग चलचित्र खेल्न लागेको घोषणा गरेका थिए । अमेरिकाबाट फर्किएपछि जुही चावलासँग ‘शर्माजीकी नम्किन’को सुटिङ गरेका थिए तर स्वास्थ्यमा समस्या आएपछि बीचमै सुटिङ रोकिएको टाइम्स अफ इन्डियाले जनाएको छ ।

६७ वर्षीय ऋषिको पछिल्लो पटक ‘द बडी’ रिलिज भएको थियो । सन् १९५२ मा जन्मिएका ऋषि पहिलो पटक ‘मेरो नाम जोकर’ (१९७०)मा बालकलाकारका रुपमा देखिएका थिए । उनका पिता राज कपूरले निर्देशन गरेको यही फिल्मबाट उनले नेसनल अवार्ड जिते । त्यसको तीन वर्षपछि उनको पहिलो लिड रोल भएको फिल्म सार्वजनिक भएको थियो, ‘बब्बी’ । यसबाट उनले उत्कृष्ट अभिनेताको फिल्मफेयर अवार्ड जिते । उनको ‘खुल्लम खुल्ला : द ऋषि कपुर अन्सेन्सर्ड’ बायोग्राफी प्रकाशित छ । बुधबार मात्रै बलिउडले उम्दा कलाकार इरफान खानलाई ५३ वर्षको उमेरमा गुमाएको थियो ।

Leave a Reply