आँचलले घर घर पुगेर एक सय परिवारलाई गरिन् सहयोग

विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड १९) को संक्रमणका कारण यतिबेला नेपाल पनि लकडाउनमा छ । लकडाउनका कारण धेरै मानिसहरु समस्यामा छन् । यो अवस्थामा विभिन्न व्यक्तिहरुले दैनिक गुजारा चलाउन केही सहयोग पुगोस् भन्ने आशयले राहत वितरण गरिरहेका छन् । यसतर्फ नेपाली सेलिब्रेटीहरु पनि जागरुक हुन थालेका छन् ।

यसैबिच नायिका आँचल शर्माले पनि राहत वितरण गरेकी छिन् । गत वर्ष फागुन २९ गते विवाह बन्धनमा बाँधिएकी आँचलले श्रीमान् उदीप श्रेष्ठको साथमा काठमाडौँको क्षेत्रपाटी स्थित एक सय घरलाई राहत प्रदान गरेकी हुन् । आपतको समयमा सकेको सहयोग गर्नुपर्ने बताउँदै आफ्नो तर्फबाट सक्दो सहयोग गरेको उनको भनाई छ । उनले सबैको घर घरमा पुगेर राहत हस्तान्तरण गरेकी हुन् । आँचलसँगै चलचित्र क्षेत्रका विभिन्न व्यक्तित्वहरु अहिले सहयोगमा जुटिरहेका छन् ।

आँचलसँगै नायिकाहरू वर्षा राउत, वर्षा सिवाकोटी, पूजा शर्मा र करिष्मा मानन्धर तथा नायक पल शाह तथा हाँस्यकलाकार किरण केसी लगायत अहिले सहयोगमा जुटिरहेका छन् । कोही विपन्न परिवारलाई सहयोग गरिरहेका छन्, कोही पशुपंक्षी तथा चराचुरुङ्गीलाई आहारा खुवाइरहेका छन् भने कोही चलचित्र प्राविधिकहरुलाई सहयोग गरिरहेका छन् ।

Leave a Reply