नाजिर हुसेनको सरकारलाई यस्तो आग्रह

विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड १९) को संक्रमणका कारण यतिबेला नेपाल पनि लकडाउनमा छ । यो भाइरसको संक्रमण फैलिन नदिन सरकारले बैशाख १५ गतेसम्मलाई लकडाउन गरेको छ । कोरोनाको त्रासले एक महिनायता नेपाली चलचित्रको छायांकनदेखि प्रदर्शनसम्म स्थगित हुँदा कलाकारहरु पनि लकडाउनका कारण घर भित्रै छन् ।

कलाकारहरु कोही आफ्नो परिवारसंग समय बिताइरहेका छन् भने कोही श्रीमान् वा श्रीमतीसँग खाना पकाइरहेका छन् , कोही किताब पढ्दै, चलचित्र हेर्दै बसेको देख्न सकिन्छ । साथमा कलाकारहरुले सामाजिक संजालको माध्यमबाट जनतालाई सचेत बनाउने काम पनि गरिरहेका छन् । यसैक्रममा अभिनेता नाजिर हुसेनका पोष्टहरुमा सरकारलाई खबरदारी गरिएको देख्न सकिन्छ । लकडाउन भएका कारण पनि अहिले जनताहरु हिडेरै आफनो घरसम्म पुगिरहेका छन् । तर, कतिपय ठाउँमा घर जाँदै गरेका नागरिकले सास्ती भोग्नु परेको खबरहरु पनि सार्वजनिक भैरहेका छन् ।

लकडाउनको २६औ दिन नायक हुसेनले प्लेकार्ड बोक्दै लेखेका छन्–‘सत्ता तपाइसँगै छ, शक्ति तपाइसँगै छ । अनी लौरो पनि तपाइसँगै छ ।’ यस पोष्टमार्फत उनले सरकारलाइ शक्तिको दुरुपयोग नगर्न आग्रह गरेको बुझिन्छ । सत्ता र शक्ति जनताका लागि प्रयोग गर्न उनले सरकारलाई अपिल गर्न खोजेका छन् । त्यस्तै लकडाउनको २७औ दिन अर्को प्लेकार्ड बोक्दै लेखेका छन्– हामी देख्दै छौं तपाइले गरेको , हामी सुन्दै छौं तपाइले बोलेको । र साथमा जिम्मेवार हुन पनि आग्रह गरेका छन् । नाजिरले लकडाउनको २५औं दिनको पहिलो प्लेकार्डमा ‘कि खाना देउ, कि जान देउ!’ हामीलाई सुरक्षित हुन मन छ, लेखेको देखाउँदै तस्वीर खिचेका थिए ।

Leave a Reply