पल शाहको चलचित्र प्राविधिकलाई ५ लाख सहयोग

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस अर्थात् कोभिड-१९को जोखिमबाट बच्न नेपाल सरकारले घोषणा गरेको लकडाउनले सबै नेपालीहरुको जीवन अस्तव्यस्त बनेको छ । कोरोनाको त्रासले गरिएको ‘लकडाउन’का कारण दैनिक काम गरेर घर चलाउने नेपाली चलचित्रका प्राविधिकहरू पनि निकै समस्यामा परेका छन् । ‘लकडाउन’ पछि चलचित्र प्राविधिकहरुलाई बिहान बेलुका हात-मुख जोर्नै समस्या भएपछि चलचित्र प्राविधिक संघले फिल्मकर्मीसँग सहयोगको अपिल गरेको थियो । शुक्रवार ‘छक्का पञ्जा’ टिमले प्राविधिकहरुका लागि १ लाख १० हजार दिने घोषणा गरेको केही घण्टापछि अभिनेता पल शाहले पनि सामाजिक सञ्जालको माध्यमबाट सहयोग रकम घोषणा गरेका छन् ।

फेसुबकमा स्टाटस लेख्दै अभिनेता शाहले विपन्न तथा आर्थिक अवस्था कमजोर भएका प्राविधिकहरुलाई आफ्नो व्यक्तिगत तर्फबाट ५ लाख सहयोग गर्न लागेको जानकारी गराएका हुन् । ‘विपन्न तथा आर्थिक अवस्था कमजोर भएका चलचित्र प्राविधिक तथा अन्य सहयोगीहरूको जनजीवनलाई सहज बनाउनको लागि आर्थिक सहयोग गर्ने घोषणा गर्दछु,’ उनले लेखेका छन् । यो सहयोग वितरण कार्यमा उनले चलचित्र प्राविधिक संघसँग सहयोगको अपेक्षा राखेका छन् । आर्थिक अवस्था कमजोर भएका फिल्म क्षेत्रमा सक्रिय सबैको साथमा आफू रहको पनि उनले उल्लेख गरेका छन् ।

Leave a Reply