बलिउड गायिका कनिका कपूरको पाँचौ कोरोना रिपोर्ट पनि पोजेटिभ

कोरोना भाइरस (कोभिड १९)बाट संक्रमित बलिउडकी चर्चित प्लेब्याक गायिका कनिका कपूरको पाँचौ रिपोर्ट पनि पोजेटिभ देखिएको छ । लण्डनबाट फर्किएकी केही दिनपछि गायिका कनिका कपुरमा कारोना भाइरसको संक्रमण देखिएको थियो । कोरोना संक्रमण भएसँगै उनको लखनउको एक अस्पतालमा उपचार भइरहेको छ । डाक्टरले हरेक ४८ घन्टामा एक पटक कोरोना संक्रमितको रिपोर्ट परीक्षण गर्ने गर्छन् । कुनैपनि संक्रमितको रिपोर्टमा लगातार २ पटकसम्म नेगेटिभ देखिएमा उसलाई थप परीक्षण गराउने गरिँदैन । तर, कनिकाको भने पाँचौ पटक पनि रिपोर्ट पोजेटिभ नै आएको छ ।

तर, सामाजिक सञ्जालमा चर्चा भए जस्तै उनको स्वास्थ्य अवस्थालाई लिएर आत्तिनुपर्ने कुनै कारण नभएको चिकित्सकहरुले बताएका छन् । उनको स्वास्थ्य अवस्था स्थिर रहेको र उनले खानेकुरा पनि खाइरहेको भारतीय सञ्चारमाध्यममा उल्लेख छ ।कनिकाले केही दिन अगाडि मात्र इन्स्टाग्राममा आफूले परिवारलाई निकै नै मिस गरेको र चाँडै नै घर जान चाहेको उल्लेख गरेकी थिइन् ।गायिका कनिकाले जुगनी, बेबी डल, चिट्टिया कलैयाँ, देशी लुकलगायतका कयौं चर्चित गीतहरु गाइसकेकी छन् ।

Leave a Reply