‘२ नम्बरी’ को छायांकन पनि कोरोनाका कारण रोकियो

यस वर्ष प्रदर्शनमा आएको ब्लकबस्टर चलचित्र ‘छ माया छपक्कै’ का निर्देशक दिपेन्द्र लामाको लेखन तथा निर्देशनमा निर्माण हुने चलचित्र ‘२ नम्बरी’को छायाँकन रोकिएको छ। केही दिनअघि कोरोनाका कारण चलचित्र ‘ए मेरो हजुर ४’,‘के घर के डेरा’ टिमले छायांकन स्थगित गरेको थियो ।यसैबीच सोमबारबाट चलचित्र ‘२ नम्बरी’को छायांकन स्थगित भएको निर्देशक लामाले फेसबुकमार्फत् जानकारी दिएका छन् । स्थिति सामान्य भएपछि चलचित्र पुनः फ्लोरमा जाने उनले बताए । दुई हप्ता अगाडि पोखराबाट चलचित्रको छायाँकन सुरु भएको थियो । अभिनेता पल शाह र अभिनेत्री वर्षा राउतको एक दृश्य सामाजिक सञ्जाल फेसबुकमा साझेदार गर्दै निर्देशक लामाले लेखेका छन्, ‘अशान्त मन र मस्तिष्क लिएर काम गर्न गाह्रो हुने भएकाले ‘२ नम्बरी’ चलचित्रको छायांकन हाललाई रोकेका छौं । स्थिति सामान्य हुने वित्तिकै छायांकन यथावत गर्नेछौं ।’

चलचित्रमा दयाहाङ राई, उगेन छोदेन (भुटानी अभिनेत्री), पल शाह, वर्षा राउत, बुद्धि तामाङलगायतका कलाकारहरुको अभिनय रहनेछ । एउटा सुन्दर गाउँका २ जना साथी, उनीहरुको मित्रता र दुश्मनीको कथामा बन्ने चलचित्र ‘२ नम्बरी’ले समाजमा हुने गरेका २ नम्बरी कामलाई पनि उठान गर्नेछ । रेड बर्ड प्रोडक्शन र आरआर फिल्म प्रोडक्शनको ब्यानरमा निर्माण हुन लागेको यो चलचित्रमा कार्यकारी निर्माताको रुपमा रत्न श्रेष्ठ छन् । किरण नेपालीको प्रस्तुतिमा तयार हुन लागेको चलचित्रमा रोहित कट्टेल र सरोज नेपाली निर्माताको रुपमा छन् भने अमलादेवी राई सह–निर्माताको रुपमा छन् । चलचित्रमा सुशन प्रजापतिको छायांकन, रामजी लामिछानेको कोरियोग्राफी रहनेछ । यो चलचित्र आउँदो बर्ष २०७७को जनैपूर्णिमामा रिलिज हुने छ ।

Leave a Reply