‘ए मेरो हजुर ४’ को छायांकन रोकियो

अभिनेता अनमोल केसी र अभिनेत्री सुहाना थापाको प्रमुख भूमिका रहने चलचित्र ‘ए मेरो हजुर ४’ को छायांकन रोकिएको छ । विश्वभर फैलिएको कोरोना भाइरसको प्रभावका कारण केही दिनका लागि चलचित्रको छायांकन रोकिएको अभिनेत्री तथा निर्देशक झरना थापाले फेसबुकमा स्टाटस लेखेर जानकारी दिएकी छन् ।

‘मानव जातीलाई नै चुनौती बनिरहेको कोरोना संक्रमणबाट बच्न, सतर्कता अपनाउन हामी सबै एकजुट हुनैपर्छ । यसबाट कलाकार, प्राविधिकहरुमा पर्न गएको असुविधाप्रति हामी सजग छौं । आफ्नो स्वस्थ र जीवनभन्दा ठूलो केही हुन सक्दैन । हामी छिट्टै फेरि पहिले जस्तै सहज जीवनशैलीमा हुनेछौं,’ उनले लेखेकी छन् । पोखरामा छायांकन सकेर हालै निर्माण टिम राजधानी फर्किएको थियो । ४० प्रतिशत छायांकन पूरा भैसकेको चलचित्रको बिहीवारसम्म पाटनमा छायांकन भैरहेको थियो ।

सुनिल कुमार थापा प्रोडक्सन र सुहाना इन्टरटेनमेन्टको ब्यानरमा बन्न लागेको ‘ए मेरो हजुर ४’ अर्को वर्ष (२०७७) को दशैंको फूलपातीमा प्रदर्शनमा आउँदैछ । चलचित्रमा अनमोल र सुहानासँगै सलोन बस्नेत, सरोज खनाललगायतका कलाकारहरुको अभिनय छ । चलचित्रमा अभिनेता अनमोलले पालेको कुकुर कोकोको पनि अभिनय रहेको छ । सञ्जय लामाले चलचित्र खिच्ने जिम्मेवारी पाएका छन् । नेपाल छायांकन पूरा भएपछि यूरोप र ओमानमा चलचित्रको गीत खिचिँदैछ ।

‘ए मेरो हजुर ३’बाट निकै रुचाइएको अनमोल र सुहानाको यस चलचित्र निकै प्रतीक्षित बनेको छ । अनमोल र सुहानाले अभिनय गरेको ‘ए मेरो हजुर ३’ बक्सअफिसमा सुपरहिट सावित भएको थियो । यहि चलचित्रबाट डेब्यु गरेकी सुहानाको अभिनयलाई दर्शक र समिक्षकले रुचाएका थिए ।

Leave a Reply