‘लक्का–जवान’ रिलिज पनि कोरोनाका कारण स्थगित

विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९)को उच्च जोखिममा नेपाल पनि रहेको डब्लूएचओले बताएपछि अहिले हरेकको मनमा त्रास उत्पन्न भएको छ । कोरोनाको जोखिम न्यूनिकरणका लागि सरकारले भीडभाड हुने कार्यक्रम नगर्न र दर्शकको चाप रहने हलमा नजान पटक-पटक आग्रह गरिरहेको छ । यसैलाई मध्यनजर गर्दै चलचित्र ‘लक्का–जवान’ को प्रदर्शन स्थगित भएको छ । यसअघि फागुन ३० मा प्रदर्शन हुने भनिएको ‘म यस्तो गीत गाउँछु २’ र चैत ७ मा प्रदर्शन हुने तरखरमा रहेको ‘नीरफूल’ ले प्रदर्शन मिति स्थगित गरेका थिए ।

यही चैत २१ मा आउने तयारीमा रहेको यो चलचित्रको प्रदर्शन अनिश्चितकालका लागि स्थगित भएको निर्माता किरण केसीले जानकारी दिए । ‘कोरोनाका कारण अहिले डरै डर छ । सरकारले समेत सिनेमा हलमा नजान आग्रह गरेको अवस्थामा अब सर्नुको विकल्प भएन ।’ शिवहरी पौडेलको डेब्यू निर्देशित चलचित्रमा १ करोड ९२ लाख रुपैयाँ खर्च भइसकेको उनी बताउँछन् । उनले अर्को वर्षको भदौमा चलचित्र प्रदर्शन गर्ने तयारी भैरहेको बताए ।

ध्रुवदत्त र अनुसुयषा श्रेष्ठ ओन्ताको प्रस्तुतीमा किरण केसी, दीलिप रायमाझी र शिवहरि पौडेल कार्यकारी निर्माताका रहेको चलचित्र ‘लक्का जवान’ को सह-निर्मातामा सुशील अर्याल, राजाराम पौडेल, राज केसी, सुरेन्द्र केसी, दीपेन्द्र खनियालगायत छन् । ‘आमा बंगलामुखी फिल्म प्रोडक्सन’ को ब्यानरमा बनेको ‘लक्का जवान’ ले केही पाका उमेरका मानिसहरुको कथा भन्ने बताइएको छ । चलचित्रमा अनुसुयषा श्रेष्ठ ओन्ता, सुरेन्द्र केसी, जयनन्द लामा, सविता गुरुङ, यमन श्रेष्ठ, विमला गिरीलगायतका कलाकारहरुको पनि अभिनय रहेको छ । चलचित्रमा बरिष्ठ हास्यकलाकार मदनकृष्ण श्रेष्ठ अथिती भूमिकामा छन् । चलचित्रको कथा, पटकथा तथा संवाद शिवहरी स्वयंको हो ।

Leave a Reply