रेखा, पूजा र बेनिशा स्टारर ‘उपहार’को शुभ मुहूर्त गर्दै छायाङ्कन सुरु

अभिनेत्री रेखा थापाको निर्माण र अभिनय रहने चलचित्र ‘उपहार…द जर्नी अफ् लाइफ’ को छायांकन सुरु भएको छ । बिहीबार पशुपतिनाथमा शुभ-मुहूर्त गरेर त्रिभुवन विमानस्थलको गेटबाट चलचित्रको छायांकन थालिएको हो । सामाजिक विषयवस्तुमाथि आधारित भएर निर्माण हुने चलचित्रलाई गत वर्षको सुपरहिट फिल्म ‘झिँगेदाउ’का निर्देशक ज्ञानेन्द्र देउजाले ‘उपहार’को निर्देशन गर्नेछन् ।

चलचित्रमा रेखाका साथै पूजा शर्मा, बेनिशा हमाल, मुकुन भुषाल, मिस्टर नेपाल २०२३ का विजेता समर्पणजंग कार्की, शिशिर राणा, तेज गिरीलगायतको मुख्य भूमिका रहनेछ । फिल्ममा रेखा, पूजा र बेनिशा एक्सन अवतारमा पनि प्रस्तुत हुनेछन् । तीनजना अभिनेत्रीको पहिलो पटक फिल्ममा सहकार्य भएको हो ।

रेखा फिल्मस् र कपनगढी फिल्म्सको संयुक्त ब्यानरमा बन्न लागेको फिल्ममा अभिमन्यू निरवी तथा सुलक्षण भारतीयको लेखन छ । काठमाडौं आसपासमा छायांकन हुने चलचित्रमा अर्जुन पोखरेल र बाबुल गिरीको संगीत निर्देशन, कविराज गहतराजको नृत्य निर्देशन, विष्णु कल्पितको छायांकन, रोशन श्रेष्ठको एक्सन कोरियोग्राफी र देव गुरुङको सम्पादन रहनेछ।

Leave a Reply