पूजा र पलको ‘म यस्तो गीत गाउँछु २’को ट्रेलर सार्वजनिक (तस्बिर र भिडियोसहित)

वर्षमा एउटा मात्र चलचित्र लिएर आउने सुदर्शन थापा यस वर्ष चलचित्र ‘म यस्तो गीत गाउँछु’ को सिक्वेल दर्शकमाझ पस्कँदैछन् । थापाको निर्माण तथा निर्देशनमा तयार भएको चलचित्र ‘म यस्तो गीत गाउँछु २’को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । बिहीबार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको ट्रेलरमा अभिनेता पल शाह र अभिनेत्री पूजा शर्माको प्रेममा आउने उतार-चढाव देखाइएको छ। अभिनेता पल शाह चलचित्रमा पनि पलको भूमिकामा प्रस्तुत छन् । उनी एक चर्चित गायक हुन्छन् । अभिनेत्री पूजा शर्मा उर्फ छाँया भने पलको गायनको फ्यान हुन्छिन् ।

चलचित्रको यसअघि सार्वजनिक भएको तीन ‘तिम्रो घरको वरिपरि’,‘दुःखको काँडा’ र ‘कसम कसम’ बोलको गीतलाई दर्शक तथा श्रोताले निकै रुचाएका छन् । पल र पूजाको जोडीलाई दर्शकले ‘म यस्तो गीत गाउँछु’मा रुचाइसकेका छन् । सांगीतिक प्रेम कथामा तयार भएको चलचित्र ‘म यस्तो गीत गाउँछु २’ मा पल र पूजाका अलावा हरिहर शर्मा, दिनेश डिसी, राजा राजेन्द्र पोखरेल, सोनिका रोकायलगायतका कलाकारहरुको अभिनय छ ।

सुदर्शन थापा र पूजा शर्मा निर्माता रहेको चलचित्रमा जन्मजय साम्पाङ राई सह–निर्माताको रुपमा छन् । रीच इन्टरटेन्मेन्ट र जीजीए ग्रुपले काठमाण्डौ र एफडी कम्पनीले काठमाण्डौ बाहिर चलचित्रको वितरण गर्नेछ । यो चलचित्रमा सुरज आचार्य र सुदिप ढकाल निर्माण नियन्त्रकको रुपमा छन्। शिवम अधिकारी र दिनेश न्यौपानेले चलचिको कथा लेखेका हुन् । बनिष शाह र मिलन श्रेष्ठको सम्पादन रहेको चलचित्र सौरभ लामाले खिचेका हुन् । चलचित्रमा समावेश पाँचवटा गीतमा संगीतकार अर्जुन पोखरेलको संगीत छ ।

फागुन २३ गतेबाट प्रदर्शनमा आउने भनिएको यस चलचित्रको प्रदर्शन मिति पनि फेरिएको छ । अब यो चलचित्र एक हप्ता पछि अर्थात् फागुन ३०मा नेपालभर प्रदर्शन हुँदैछ ।

Leave a Reply