प्रकाश र केकीको ‘परदेशी २’ कात्तिक ३ मा प्रदर्शन हुने

नारायण रायमाझी निर्देशित चलचित्र परदेशी २’को प्रदर्शन मितिमा फेरी हेरफेर गरिएको छ । यस वर्षको दशैंलाई लक्षित गर्दै असोज १४ गतेलाई प्रदर्शन मिति तोकेको चलचित्र अब कात्तिक प्रदर्शनमा आउने भएको हो । शनिबार निर्माण टिमले एक भिडियोमार्फत् कात्तिक ३ गतेका लागि नयाँ प्रदर्शन मिति घोषणा गरेको हो ।

यो मितिमा छायांकनरत फिल्म ‘पशुपति प्रसाद २ : भष्मे डन’ पनि प्रदर्शनमा आउने तयारीमा छन् । अर्थात्, आगामी दशैंमा दुई सफल फिल्मका श्रृंखलाबीच भिडन्त हुने भएको छ । हुन त दशैं विदामा एकभन्दा बढी फिल्म रिलिज हुँदै आइरहेको अवस्था छ ।

‘परदेशी २’को प्रदर्शन मिति घोषणा गर्न तयार पारिएको भिडियोमा अमेरिका बस्ने सन्तान (प्रकाश सपूत)ले आमासँग यसपालीको दशैं र फागुनमा नेपाल आउँछु भने पनि विभिन्न कारणले आउन नसकेको अवस्थालाई फिल्मको रिलिज गर्नुको कारणको रुपमा व्याख्या गरिएको छ भने प्रकाशले अबको दशैंमा घर आउँछु भनेर गरेको वाचालाई नयाँ प्रदर्शन मितिको रुपमा प्रष्ट्याइएको छ ।

नारायण रायमाझी निर्देशित फिल्ममा प्रकाशका साथै नीर शाह, रमा थपलिया, केकी अधिकारी, वर्षा सिवाकोटी, दीलिप रायमाझी, प्रशान्त तामाङ्ग, सुशील पोखरेल, सविन बास्तोला, भीमा मैनाली, देवेन्द्र बब्लु, रोशनी कार्कीलगायतको पनि अभिनय छ । गायक सपूतले यही फिल्मबाट अभिनेताको रुपमा डेब्यू गरेका हुन् । राजेश बंशल र नारायण रायमाझीले फिल्मको निर्माण गरेका हुन् ।

Leave a Reply