राष्ट्रपतिले हेरिन् महजोडीको ‘महापुरुष’

गत कार्तिक ११ गतेबाट प्रदर्शन भएको सुपरहिट चलचित्र ‘महापुरूष’को राष्ट्रपति निवासमा विशेष प्रदर्शन गरिएको छ । शनिबार शीतलनिवासमा आयोजित चलचित्रको विशेष प्रदर्शनमा राष्ट्रपति विद्यादेवी भण्डारीले चलचित्र हेरेकी हुन् । चलचित्रको विशेष स्क्रिनिङमा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, गौरी मल्ल, अञ्जना बराइलीसहित चलचित्रका निर्माण टोलीको उपस्थिति थिए । राष्ट्रपतिसहित केहि कर्मचारीले समेत चलचित्र हेरेका थिए ।

प्रदीप भट्टराई निर्देशित चलचित्र एकल पिताले आफ्नो सन्तानका लागि गर्ने त्याग र समर्पणमा आधारित छ । बक्सअफिस र समीक्षात्मक रुपमा सफल चलचित्र ‘महापुरुष’ नेपालको पहिलो कार्बन न्यूट्रल चलचित्र हो ।

षट्कोण आर्ट्स प्रा.लि.को व्यानारमा निर्मित चलचित्रमा कार्यकारी निर्माता रबिन्द्र सिंह बानियाँ हुन् भने निर्माता दिपेश खत्री रहेका छन् । षट्कोण आर्ट्सले यसअघि टलकजङ भर्सेस टुल्के, जात्रा र जात्रै जात्रा चलचित्र निर्माण गरेको छ । चलचित्रमा दीपक बज्राचार्यको छायांकन, मित्र डी. गुरुङको सम्पादन रहेको छ। यही फिल्म बाट कवि नवराज पराजुलीले पनि गीतकारको रुपमा फिल्ममा डेब्यु गरेकाछन् । फिल्मको पार्श्व ध्वनिमा रोहित शाक्य / शैलेश श्रेष्ठ, ध्वनि संयोजनमा अमित श्रेष्ठ, रंग संयोजनमा कपिल पराजुली, मिडिया कसल्टेन दिनेश सिटौला फिल्म्स, पब्लिसिटी डिजाइन ट्राइडेन्ट, सहायक निर्देशक शान्तिम कोइराला र प्रोडक्सन म्यानेजरमा रूपक प्रताप अधिकारी रहेका छन्।

Leave a Reply