अनमोलले छाडे चलचित्र ‘एक्स नाइन’, सम्झौता रकम पनि गरे फिर्ता

अभिनेता अनमोल केसीले चलचित्र ‘एक्स नाइन : लेभल वान’ छाडेका छन् । अनमोलले सम्झौता रकम (साइनिङ अमाउन्ट) पनि फिर्ता गर्दै चलचित्रबाट बाहिरिएका छन् । एक वर्ष कडा मेहनतका साथ चलचित्रका लागि बडी समेत बनाएका अनमोलले निर्धारित समयमा चलचित्र छायाकंनमा जान नसकेपछि हात झिकेका हुन् ।

निर्माता तथा निर्देशक मुकुन्द भट्टले निर्माण गर्न लागेको चलचित्र नेपालकै पहिलो ठूलो एक्सन चलचित्र भनिएको छ । क्यानडा, यूरोप र नेपालमा छायाँकन हुने बताइएको चलचित्रको कथा निर्देशक भट्ट र किंग योगीले तयार पारेका हुन् । गोल्डेन हिल्स पिक्चरको प्रस्तुतिमा निर्माण हुने चलचित्र निर्माण अगाडि नै कलाकारको कारणले चर्चामा थियो । छायांकन सुरु हुने टुंगो नभएको चलचित्रमा अभिनेता सौगात मल्ल, पुष्प खड्का, निश्चल बस्नेत, राज कटुवाल लगायतका कलाकार अनुबन्धित भएका थिए । त्यस्तै, मुख्य नायिका भने मोडल नीति शाह अनुबन्धित भएकी थिइन्।

Leave a Reply