साम्राज्ञी र जितुको ‘ह्यारीकी प्यारी’को मोसन पोस्टर सार्वजनिक

हास्य अभिनेता जितु नेपाल र अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहको शिर्ष भूमिका रहेको चलचित्र ‘ह्यारी कि प्यारी’को मोसन पोस्टर सार्वजनिक भएको छ । मोसन पोस्टरमा चलचित्रका प्रमुख कलाकारद्वय जितु र साम्राज्ञी डलरको पछि दौडिएको चित्रण गरिएको छ । चलचित्रमा जितु ह्यारी र साम्राज्ञी उनको प्यारीका रुपमा देखिनेछन्।

कमेडीमा जमेका जितु र रोमान्टिक अभिनेत्रीको छवि बनाएकी साम्राज्ञीको यो पहिलो सहकार्य कस्तो बनेको होला भन्ने जिज्ञासा चौतर्फी सुरु भएको छ । माघ २० लाई प्रदर्शन मिति तोकेको चलचित्रलाई डा: कपिल रिजालले निर्देशन गरेका हुन् । रोमकम जनराको चलचित्रमा निर्देशक रिजालकै प्रस्तुति र कथा छ ।

जितु र साम्राज्ञीका साथमा विजय बराल, लक्ष्मी गिरी, सुवास गजुरेल, नरेश पौडेल, रञ्जना भट्टराई, समिक्षा पौडेल, रमेश अधिकारी, डिल्लीराम खनाललगायतका कलाकारले यसमा अभिनय गरेका छन् भने केही अन्य सरप्राइजसमेत रहेको निर्देशक रिजालले जानकारी गराए।

चलचित्रमा डाक्टर भोला रिजालको गीत रचना, शिखर सन्तोष र युग भुषालको संगीत, सपनकुमार राई, सौभर दास, थोम्सन एन्ड्रयुज, मीना निरौला र देवाञ्जली जोशीको गायन र कविराज गहतराजको कोरियाग्राफी रहेको छ । सुदीप बरालको छायांकन गरेको चलचित्रलाई अर्जुन जिसीले सम्पादन गरेका हुन् । विजय बस्यालले पोस्टर डिजाइन गरेकको चलचित्रको पोष्ट प्रोडक्सनको लागि अहिले निर्देशक रिजाल र डिओपी सुदीप बराल मुम्बईमा छन् ।

Leave a Reply