‘अर्जुन रेड्डी’को नेपाली रिमेक बिशाल सापकोटाले निर्देशन गर्दै , जि २१ फिल्म्ससँग सहकार्य

सन् २०१७ को सुपरहिट तेलुगु चलचित्र ‘अर्जुन रेड्डी’को नेपाली रिमेक भर्सन बन्ने भएपछि चलचित्रलाई कसले निर्देशन गर्ने होला भन्ने बारे सबैमा कौतुहलता उत्पन्न भएको थियो । साउथ स्टार विजय देवगरकोन्डा अभिनीत तेलुगु चलचित्र ‘अर्जुन रेड्डी’लाई भने सन्दीप रेड्डी भङगले निर्देशन गरेका थिए । यसबीचमा निर्माण पक्षले भने निर्देशकको नाम सार्वजनिक गरेको छ । ‘अर्जुन रेड्डी’ को नेपाली भर्सनलाई माघ २४ मा रिलिज हुने चलचित्र ‘सेल्फी किङ’ का निर्देशक विशाल सापकोटाले निर्देशन गर्ने भएका छन् ।

यसका साथै चलचित्र निर्माणमा ‘युवा फिल्म्स’सँग ‘जी २१ फिल्म्स’ले पनि सहकार्य गर्ने भएको छ । ‘जी २१ फिल्म्स’ जस्तो अनुभवी र सफल निर्माण कम्पनीसँग जोडिएर काम गर्न पाउँदा आफूहरू थप उत्साहित भएको ‘युवा फिल्म्स’का केशव खड्का र आशिष श्रेष्ठले जानकारी गराए । यसअघि ‘जी २१ फिल्म्स’ले निर्माण गरेको चलचित्र ‘दुई रुपैयाँ’ निकै सफल भएको थियो । यता ‘जि २१ फिल्म्स’को तर्फबाट आसिफ शाहले ‘अर्जुन रेड्डी’को नेपाली रिमेक बन्नु नेपाली चलचित्रको लागी नै एउटा नयाँ प्रयोग भएकोले पनि आफुहरु चलचित्र निर्माणमा सहभागी भएको बताए ।

केही दिनअघि ‘अर्जुन रेड्डी’को निर्माण कम्पनी भद्रकाली पिक्चर्सको तर्फबाट निर्माता प्रणय रेड्डी र युवा फिल्मस्को तर्फबाट केशव खड्काले अमेरिकामा अधिकारी खरिद विक्रीको संझौता गरेका हुन् । यसरी राइट्स लिएर निर्माण हुन लागेको यो पहिलो नेपाली चलचित्र हो।

‘अर्जुन रेड्डी’ का निर्माता प्रणय रेड्डी र निर्देशक सापकोटा अमेरिकामा एउटै कलेजमा पढेका हुन् । उनीहरुको एकअर्कासँग राम्रो सम्बन्ध छ । युवा फिल्मस्भन्दा अगाडि विशालले निर्माता सुवास गिरीसँग मिलेर ‘अर्जुन रेड्डी’ को नेपाली रिमेक बनाउन लागेका थिए । तर, नेपाली भर्सनभन्दा अगाडि हिन्दी भर्सन प्रदर्शन हुने भएपछि निर्माता गिरीले हात झिकेपछि फिल्म बन्न सकेको थिएन । निर्माणपक्षले चलचित्रको अन्य टिमको बिषयमा चाडै नै जानकारी गराउने बताएको छ ।

Leave a Reply