आर्यनको स्पष्टिकरण: ‘म ‘अर्जुन रेड्डी’ रिमेक भर्सनमा छैन’

सन् २०१७ को सन्दिप रेड्डी वांगा निर्देशित सुपरहिट तेलुगु चलचित्र ‘अर्जुन रेड्डी’को नेपाली रिमेक भर्सन निर्माण हुँदैछ । नेपाली चलचित्र निर्माण कम्पनी एवम् वितरक युवा फिल्म्सले चलचित्रको नेपाली भर्सनको निर्माण अनुमति लिएको हो । अर्जुन रेड्डीको नेपाली भर्सन युवा फिल्म्सको ब्यानरमा बन्ने आधिकारिक जानकारी युवा फिल्म्सको तर्फबाट केशव खड्का र आशिश श्रेष्ठले दिएका थिए ।

केही दिन अगाडि ‘अर्जुन रेड्डी’को निर्माण कम्पनी भद्रकाली पिक्चर्सको तर्फबाट निर्माता प्रणय रेड्डी र युवा फिल्मस्को तर्फबाट केशव खड्काले अमेरिकामा अधिकारी खरिद विक्रीको संझौता गरेका हुन् । यसरी राइट्स लिएर निर्माण हुन लागेको यो पहिलो नेपाली चलचित्र हो।यस्तै गत वर्ष चलचित्रको हिन्दी रिमेक ‘कबिर सिंह’ प्रदर्शनमा आएको थियो जसले निकै सफलता हात पारेको थियो । बलिउड नायक साहिद कपुर अभिनीत चलचित्रले बक्स अफिसमा ३७९.०२ करोड कमाइ गरेको थियो ।

‘अर्जुन रेड्डी’ को नेपाली रिमेक बन्ने भएपछि अभिनेतामा आर्यन सिग्देल हुने चर्चा चलेको थियो । उनले चलचित्र गर्नका लागि मौखिक सहमति जनाएको पनि खबर बाहिरिएको थियो ।

तर, अभिनेता आर्यनले यस विषयमा आफ्नो स्पष्टिकरण दिएका छन् । उनले बिहीबार साँझ फेसबुकमा स्टाटस लेख्दै ‘अर्जुन रेड्डी’ को विषयमा आफूसँग कुरा नभएको स्पष्ट पारेका छन् । उनले लेखेका छन्, ‘स्पष्ट पार्न चाहन्छु कि म ‘अर्जुन रेड्डी’ को रिमेकको हिस्सा छैन । चलचित्रको बारेमा कुराकानी र विचार गरेको छैन । यो राम्रो चलचित्र हो र म पूरै टिमलाई शुभकामना दिन्छु ।’

Leave a Reply