१२० करोडमा चलचित्र साइन गर्दै अक्षय बने बलिउडका सर्वाधिक महंगो पारिश्रमिक लिने कलाकार

बलिउडका चर्चित अभिनेता अक्षय कुमार अभिनित केशरी, मिशन मंगल, हाउसफुल–४ र गुड न्यूज चलचित्रले २०१९मा वक्सअफिसमा विश्वव्यापीरुपमा हजार करोड भारू बढीको कमाइ गरिसकेको छ । हालसम्म २ सय करोड कमाइ गरिसकेको अक्षय अभिनित ‘गुड न्यूज’ले अझैसम्म पनि वक्सअफिसमा धमाकेदार व्यापार गरिरहेको छ ।

अक्षयको हातमा अहिले चलचित्रको कुनै अभाव छैन । १ वर्षमा उनका ४ वटा चलचित्रहरू रिलिजमा आउने गर्छन् । अक्षय बलिउडका निकै व्यस्त कलाकार बनेका छन् । अक्षय बलिउडका एक मात्र अभिनेता हुन् जसका लगातार पांच चलचित्रले वक्सअफिसमा १५० करोडको कमाइ क्रस गरेको छ ।लगातार उनि अभिनित चलचित्रहरू बक्सअफिसमा सफल भइरहेकाले बलिउड निर्माता तथा निर्देशकले महंगो पारिश्रमिकमा काम गराउन तयार छन् ।

बासु भगनानीको नयाँ चलचित्रको लागि अक्षयले १ सय करोड भारु पारिश्रमिक लिन लागेको खबर बाहिरिएको थियो । तर, अब भने उनले एक नयाँ चलचित्रको लागि १ सय २० करोड भारु पारिश्रमिक लिएको खबर भारतीय मिडियाहरूमा उल्लेख गरिएको छ ।आनन्द एल राइले निर्देशनमा तयार हुने चलचित्रका लागि अक्षयले १ सय २० करोडमा साइन गरेका छन् । योसँगै अक्षय बलिउडमा सर्वाधिक महंगो पारिश्रमिक लिने कलाकार बनेका छन् ।

चलचित्रको घोषणा केही सातामा नै गरिने छ भने सन् २०२० को मध्यतिरबाट चलचित्रको छायांकन सुरु हुने बताइएको छ । उक्त चलचित्रमा अभिनेत्री सारा अली खान र अभिनेता धनुषको जोडीलाई पर्दामा देख्न पाइने सम्भावना रहेको छ ।

अब २०२० मा अक्षयका तीन चलचित्र रिलिज हुने तयारीमा रहेका छन् । उनले पहिले नै रोहित शेट्टी निर्देशित एक्शन ड्रामा चलचित्र ‘ सूर्यबंसी ’ को छायांकन सकाइसकेका छन् । उनको अर्को चलचित्र पिरियेड ड्रामा ‘ पृथ्वीराज ’ हो जसमा उनी शिर्ष भूमिकामा देखिदै छन् । उनको अर्को चलचित्र ‘ लक्ष्मी बम्ब ’ मा भने उनि पहिलो पटक ट्रान्सजेंडरको भूमिकामा देखिदै छन् ।



Leave a Reply