‘भगवत् गीता’ मा सुहानाका लागि हिरो अडिसनबाट छानिने

अभिनेत्री झरना थापाको निर्देशनमा बन्न लागेको चलचित्र ‘भगवत् गीता’को हिरो अडिसनबाट छनोट हुने भएको छ । आइतवार एक पोस्टर जारी गर्दै चलचित्रको मुख्य नायक र बाल कलाकारका लागि अडिसन आह्वान गरिएको छ ।

निर्माण टिमले २० देखि २५ वर्ष उमेर समुहको पुरुष कलाकार र ८ देखि १० वर्ष उमेर समुहको पुरुष बाल कलाकार खोजेको छ। आफ्नो परिचयसहितको एक मिनेटको भिडियो, ह्वाट्सएप नम्बर र इमेल आइडी [email protected] मा पठाउन आग्रह गरिएको छ । आगामी डिसेम्बर ७ (मंसिर २१) सम्म अडिसनका लागि आवेदन दिन सकिने पोस्टरमा उल्लेख छ ।

चलचित्रमा अभिनेत्री सुहाना थापाको मुख्य भूमिका रहनेछ । सुनिल कुमार थापाले निर्माण गर्ने ‘भगवत् गीता’को दशैंको फूलपातीबाट छायांकन सुरु गर्ने तयारी गरिएको थियो । तर, चलचित्र लागि मुख्य अभिनेताको फाइनल नहुँदा छायांकन अघि बढ्न सकेको थिएन । मधेशी समुदायकी युवती र पहाडी समुदायका युवकबीचको प्रेमकथामा चलचित्र आधारित हुने बताइएको छ । चलचित्रको निर्माण नहुँदै अमेरिका राइट्स भने विक्री भइसकेको छ ।

यसअघि हिरोका लागि अभिनेता धिरज मगरसँग कुरा भएको थियो । तर, धिरजले ४० लाख पारिश्रमिक माग गरेको बताईएको छ र पारिश्रमिकमा कुरा नमिल्दा अहिले निर्माण टिमले नायकको खोजी सुरु गरेको हो ।

Leave a Reply