बलिउड चलचित्र ‘उचाइ’को टिमलाई पर्यटन बोर्डले सम्मान गर्ने

नेपालमा छायांकन भएको बलिउडको चलचित्र ‘उचाइँ’को टिमलाई नेपाल पर्यटन बोर्डले सम्मान गर्ने तयारी थालेको छ । पर्यटन प्रवर्द्धनमा योगदान पुर्‍याएको भन्दै चलचित्रका निर्देशक र कलाकारलाई सम्मान गर्ने तयारी भएको हो । नेपालको पर्यटन प्रवर्द्धनमा चलचित्रले ठूलो भूमिका खेल्ने भन्दै बोर्डले यही शुक्रवार काठमाडौंको सिभिल हलमा एक विशेष शोको समेत आयोजना गर्दैछ ।

बुधवार नेपाल पर्यटन बोर्ड र चलचित्र विकास बोर्डका प्रमुखबीच चलचित्रको माध्यमबाट पर्यटन प्रवर्द्धन गर्ने विषयमा छलफल भएको छ । पर्यटन बोर्डमा भएको छलफलमा बोर्डका सीइओ धनञ्जय रेग्मी र चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीसँगै वितरक तथा निर्माता सुनिल मानन्धर, चलचित्र विकास बोर्डका सल्लाहकार सदस्य विधान कार्कीलगायतको पनि उपस्थिति रहेको थियो ।

हाल प्रदर्शनरत उचाइँ’ले मंगलबारसम्म नेपाली बक्स अफिसबाट १ करोड १५ लाख रुपैयाँ ग्रस कमाइ गरेको छ । सूरज बडजात्या निर्देशित मल्टीस्टारर ‘उचाइँ’को २०७८ सालको कात्तिकमा करीब २५ दिन नेपालको खोटाङको नाम्चेदेखि लुक्ला, बेसीसहर, काठमाडौं र विभिन्न क्षेत्रमा छायांकन भएको थियो । यो अवधिमा निर्माण टिमले करीब २० करोड नेपालमा खर्च गरेको थियो । चलचित्रले मित्रताको कथा भन्छ ।

चलचित्रको छायांकनका लागि भारतीय कलाकारहरु अनुपम खेर, बोमन इरानी, परिणीति चोपडा, सारिका हसन लगायत नेपाल आएका थिए । चलचित्रमा अमिताभ बच्चनको पनि अभिनय रहेको छ । तर, उनी भने स्वास्थ्य अवस्थाका कारण नेपाल आउन सकेनन् । नेपालमा उनको भागको छायांकनका लागि डुब्लिकेटको प्रयोग गरिएको थियो ।

चलचित्रमा नेपाली कलाकारहरु परमिता आरएल राणा, सरोज लामिछाने, डम्बर बोहरा, उरुशा जोशी, रमेश बज्राचार्य, तेन्जिङ ग्याचो शेर्पा, निरज मुक्तान, नारायण विश्वकर्मा, आयुश सुवेदी, स्नेहा अधिकारी, सरोज प्रजु लगायतको पनि अभिनय छ । चलचित्रको नेपाल व्यवस्थापन थ्री ह्विलर्स कम्पनी हेरेको छ ।

Leave a Reply