सौगात, दयाहाङ र रेखा एकसाथ चलचित्रमा देखिदै

एक समय नेपाली चलचित्र क्षेत्रमा एकछत्र राज गरेकी नायिका रेखा थापाको लगानी रहने नयाँ चलचित्रको निर्माण घोषणा गरिएको छ । अभिनेत्री तथा निर्मात्री थापाले चलचित्रमा अभिनेताद्वय सौगात मल्ल र दयाहाङ राईलाई अनुबन्ध गरेकी छन् ।

माघे संक्रान्तिको शुभकामना दिँदै उनले चलचित्र बन्ने घोषणा गरेकी हुन् । रेखा फिल्मस्को छैटौं प्रस्तुति रहने चलचित्रमा सबिर श्रेष्ठको निर्देशन रहने छ भने चलचित्र २०७७ साल बैशाखबाट फ्लोरमा जानेछ । चलचित्रको नाम भने फाइनल नभएको रेखाले बताइन् । चलचित्रमा स्वंयम रेखाको पनि अभिनय रहनेछ ।

यसअघि रेखाले रेनशा वान्तवा राईलाई निर्देशनको जिम्मेवारी दिँदै नयाँ चलचित्रको घोषणा गरेकी थिइन् । तर, रेनशा आफ्नो होम प्रोडक्सनको चलचित्र ‘आइ एम ट्वान्टि वान’मा व्यस्त हुने भएपछि रेखाले सविरसँगको प्रोजेक्ट पहिले निर्माण गर्न लागेकी हुन् । रेनशासँगको चलचित्र अर्को वर्षको मध्यतिर निर्माण हुने उनले बताइन् ।

अर्को बर्षको लक्ष्मी पुजामा प्रदर्शन हुने चलचित्रको पटकथा जगदिश्वर थापाले लेखिरहेका छन्। एक्सन प्रधान बताइएको चलचित्रको कथाले नै सौगात र दयाहाङ खोजेको रेखाले बताइन् । ‘चलचित्रको लाइनअप बलियो बनाउन उहाँहरुलाई रोजेका होइनौं । कथावस्तुले नै उहाँहरुलाई मागेको हो,’ उनले भनिन् । उनले यसअघि दयाहाङसँग चलचित्र ‘नीरफूल’ मा काम गरे पनि सौगातसँग पहिलो पटक काम गर्न लागेकी हुन् ।

Leave a Reply